एककरोड लागतमा ‘फुटसल सेन्टर’ सञ्चालनमा

643
views

स्याङ्जा, २५, माघ । स्याङ्जाको तल्लो वालिङमा ४ युवा खेलाडीहरुको संयुक्त १ करोड लागतमा ‘वालिङ फुटसल’ सञ्चालनमा आएको छ । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको फुटबलको सानो रुप फुटसलको क्रेज बढेसँगै स्याङ्जाको वालिङ नगरपालिका वडा ९ तल्लो वालिङमा शुक्रबार देखी औपचारिक रुपमा फुटसल सेन्टर सञ्चालनमा ल्याईएको हो ।

वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले अन्र्तराष्ट्रिय मापडण्ड अनुसार निर्मित सो ‘फाईभ ए साईड फुटसल सेन्टरको विधिवत उद्घाटन गरे ।

सो अवसरमा बोल्दै नगर प्रमुख खाँडले स्वास्थ्यको पक्षमा फुटसलले सकरात्मक भुमिका खेल्ने बताए । उनले यसअघि वालिङ बजारमा एक वटा मात्रै फुटसल सेन्टर सञ्चालनमा रहेको बताउदै नयां ‘वालिङ फुटसल’ थपिनुले युवाहरुको माझमा फुटसलको क्रेज बढ्दै गएको स्पष्ट हुने धारणा राखे ।

मेयर खाँडले उक्त फुटसलले खेलाडी उत्पादनमा ठुलो टेवा पुर्याउने उल्लेख गर्दै हरेक व्यक्तिलाई स्वस्थ्य तथा तन्दुरुस्त राख्न मद्दत पुर्याउने बताए । ‘आजबाट सञ्चालनमा आएको यो फुटसलले खेलाडीलाई मात्रै होईन अन्य व्यक्तिलाई समेत फाईदा पुर्याउछ, उनले भने, ‘एउटा फुटसलले अस्पतालको करिब ५० बेडको सेवा दिन्छ । किनभने यसले मानिसलाई स्वस्थ्य राख्दछ । बिरामी हुनै दिदैन ।’

मेयर खाँडले फुटबल जस्तै अन्य खेलकुदले युवा जमातलाई समाजमा हुने विकृति र विसङ्गतीबाट टाढै रहन समेत मद्दत पुर्याने बताउदै फुटसल सञ्चालन गरिनु सामाजिक कार्य समेत रहेको धारणा राखेका थिए ।

वालिङ बजारमा दोस्रो फुटसल सेन्टरको रुपमा सञ्चालनमा आएको उक्त फुटसल साढे तीन रोपनी जग्गामा फैलिएको बताउदै अन्र्तराष्ट्रिय मापडण्ड अनुसार नै निर्माण गरिएको सञ्चालक सोम बहादुर मल्ल (विमल) ले बताए । उनका अनुसार उक्त फुटसलका प्रशस्त पार्किङ, क्यान्टिन, स्पोर्टस् पसल तथा राती खेल्न मिल्ने गरि यथेस्ट फग लाईट जडान गरिएको छ ।

उनले फुटबल क्षेत्रमा करिअर बनाउन चाहने वालिङ लगायत आसपासका खेलाडीहरुलाई उक्त फुटसल सेन्टर राम्रो प्लेटफर्म बन्न सक्ने बताए । उनले शुपथ मुल्यमा व्यवसायिक खेल खेलाईने बताउदै प्रतिघण्टा १ हजार ३ सय रुपैया शुल्क निर्धारण गरिएको जानकारी दिए । उक्त फुटसलमा हिमालयन शेर्पाका पुर्व खेलाडी समेत रहेका विमलसँगै अन्दाज थकाली, अनिशमान श्रेष्ठ र विरेन्द्रध्वज मल्लको संयुक्त लगानी रहेको छ ।