‘अल्पमतमा पर्ने गल्ती गर्दिनँ अब’

576
views

काठमाडौं, ३, चैत्र । आन्तरिक कलह उत्कर्षमा पुगेपछि झन्डै दुई तिहाइको कम्युनिस्ट सरकार झन्डै बहुमतमा झ¥यो। नेकपा फुटेर चिरा–चिरा भयो । अन्त्यमा नाम खोसिएर साविक एमाले र माओवादी केन्द्र निर्माण भए । प्रधानमन्त्री केपी शर्मा ओली यो अवस्था आउनुमा आफ्नो मुख्य गल्ती ‘अरूको बहुमत बनाइदिनु’ रहेको ठान्छन् । त्यसैले उनी अब भने अल्पमतमा पर्ने गल्ती नगर्ने निचोडमा पुगेका छन् ।

‘सबैले स्पष्ट के बुझे हुन्छ भने अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ । अल्पमतमा एकछिन पर्दा के हुँदो रहेछ भन्ने मैले देखेँ। बहुमत बनाइदिएँ उहाँहरूको मैले । एकताका लागि मिलेर मात्रै निर्णय गर्न पाइने नीति छ । त्यो उहाँहरूले मान्नुभएन’, सोमबार विशेष अन्तर्वार्ता दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘बहुमत हुनेबित्तिकै उहाँहरू छुरी लिएर रेट्न थालिहाल्नुभयो। मेरो त हातखुट्टा समाइहाल्नुभयो नि ! रेटिएर मारिन मान्छस् कि मार हान्छौं छ्याम्म पारेर, त्योचाहिँ मान्छस्, लु रोज् भन्ने उहाँहरूले रोजाउन थाल्नुभयो । मैले रेटिन पनि मञ्जुर छैन, मार खान पनि मञ्जुर छैन भनिदिएँ ।’

०७५ जेठ ३ मा एमाले र माओवादी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। त्यस क्रममा दुवै दलका अध्यक्ष स्वतः अध्यक्ष बनाइएका थिए। ठूलो दलका हैसियतमा एमालेका ओलीले प्रथम अध्यक्षको मर्यादा पाएका थिए ।

जब एमालेतर्फका माधवकुमार नेपाल र माओवादीबाट आएका अध्यक्ष पुष्पकमल दाहालको गठबन्धन बन्यो, ओली अल्पमतमा देखिए। लगत्तै उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ढाल्ने अभियान सुरु भयो। ओलीको जिकिर थियो, ‘म एमालेतर्फको निर्वाचित अध्यक्ष हुँ । एकता महाधिवेशन नहोउन्जेल अध्यक्ष फेर्नैपर्ने भए एमालेभित्रबाट यताको अध्यक्ष फेरौं, मेरो मञ्जुरी छ।’ तर, जबर्जस्ती अल्पमत–बहुमतको ‘रडाको’ सुरु भएपछि अहिलेको अवस्था आएको उनको भनाइ छ।

एमाले र माओवादी पुनः एकीकरणको सम्भावनाबारे सोधिएको प्रश्नमा अध्यक्ष ओलीको जवाफ छ, ‘माओवादी होइन, प्रचण्ड गुट अलग भएको छ । माओवादीका अरू साथी मिलिरहेकै छन् । मिल्ने सिलसिला जारी छ। प्रचण्ड गुट पनि मिल्न चाहन्छ भने निर्वाचन आयोगले १५ दिन समय दिएको छ । अझै केही दिन बाँकी छ। तर, हिजोको झैं एकता हुँदैन। गलत आधारमा, गलत तरिकाले, गलत शक्ति दिएर एकता ग¥यो भने त्यसको परिणाम राम्रो आउँदो रहेनछ। त्यो हामीले देख्यौं ।’

नेपालमा एकीकृत कम्युनिस्ट आन्दोलनको आवश्यकता भने रहेको ओलीको ठम्याइ छ । तर, त्यसमा आफ्नो प्रयास व्यर्थ भएको उनको दुःखमनाउ छ । ‘एउटा प्रयास गरियो । नेपालमा एकीकृत कम्युनिस्ट आन्दोलन जरुरी थियो । जरुरी छ । मैले कोसिस गरेँ । एकजुट बनाएँ’, उनले भने, ‘त्यस स्थितिलाई दुरुपयोग गरेर कम्युनिस्ट आन्दोलन र त्यसको नेतृत्वलाई खत्तम पार्ने षड्यन्त्र सुरु भयो । त्यसलाई रोक्न र असफल पार्न मैले कोसिस गरेँ । पार्टी बचाउने कोसिस गरेँ। भएन ।’

फुट किन आयो त ? प्रतिनिधिसभा विघटनको दिन कसरी आइपुग्यो ? ओली दोषी अरूलाई नै देख्छन्, ‘सहमतिविपरीत, समयको मागविपरीत, वैधानिक व्यवस्था र देशको आवश्यकताविपरीतका काम कारबाही भए। तिनले ब्याक्टेरिया भरेर विकृत गर्दै औंस्या पार्दै गए। त्यो औंस्याले घाउ बढ्दै गयो । र, आज यस स्थितिमा आइपुग्यो। तिनै कारणले गर्दा प्रतिनिधिसभा भंग गर्नुपरेको थियो ।’

एकीकृत कम्युनिस्ट पार्टीको सम्बन्धविच्छेदसँगै देशमा सत्ता तानातानको खेल सुरु भएको छ । नेपालको संविधानको धारा ७६ (१) अनुसार निर्मित बहुमतको सरकारको हैसियत समाप्त भएको छ । अब यो ७६ (२) अनुसार बनेको छ । तर, माओवादीले समर्थन अझै फिर्ता लिएको छैन । फिर्ता लियो भने ?

‘माओवादीले समर्थन फिर्ता लिएमा दुई वा दुईभन्दा बढी दलको सरकार असफल हुन्छ । त्यसपछि सम्भवतः धारा ७६ (३) मा जानुपर्ला कि । त्यो भनेको ठूलो पार्टीको सरकार हो । ठूलो पार्टी मेरै हो’, प्रधानमन्त्री ओली भन्छन्, ‘७६ (२) अनुसार मैले समर्थन प्राप्त गर्न सकिनँ भने ७६ (३) अनुसार गर्नु नाटक मात्र हो, फेरि प्राप्त हुँदैन । कोही एक जना व्यक्तिले बहुमतको हस्ताक्षर लिएर जाने अवस्था पनि छैन । त्यसैले अन्ततः चुनावमा जानु अनिवार्य हुन्छ ।’

प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेँजस्तो लाग्यो कि लागेन ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ छ, ‘विघटन त अपरिहार्य आवश्यकता थियो यो देशमा। जनताको अदालतमा जान्थ्यो कुरो ।’

सर्वोच्चले जनमत लिने बेला भएको छैन भन्ने देखायो नि, होइन ? ओलीको प्रत्युत्तर छ, ‘एक समयको सर्वोच्च अदालतको फैसला यो आयो ।’ अर्को समय अर्को आउन सक्छ ? उनको भनाइ छ, ‘त्यो त संविधानको व्याख्या सर्वोच्चले गर्ने हो । यसपालिचाहिँ सर्वोच्चले व्याख्या गर्ने आफ्नो अधिकार पनि फैसलाबाट अलि छाडिदिएको देखिन्छ । व्याख्या नगरेर लेखेको छैन भन्यो। लेखेको मात्रैलाई त व्याख्यै गर्नु पर्दैन। लेखेकै कुराका लागि त ५ जनाको इजलासले महिनौं माथापच्ची किन गर्नुप¥यो ? सयौं वकिलले बहस किन गर्नुप¥यो ?’

सर्वोच्च अदालतकै दोस्रो फैसलाका कारण एमाले र माओवादी केन्द्र अलग–अगल दल बनिसकेका छन्। पुष्पकमल दाहालसँग गठबन्धन गरेर ओली ढाल्ने अभियानमा लागेका वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाललगायत एमालेमै फर्किएका छन् । अध्यक्ष ओलीले भने नेपाल खेमाका उनीसहित सबै नेतालाई महत्त्वपूर्ण जिम्मेवारीबाट मिमुख गरिसकेका छन् ।

यसबारे सोधिएको प्रश्नमा एमाले अध्यक्ष ओलीको प्रस्टोक्ति छ, ‘अदालतको फैसलापछि उहाँहरू पार्टीमा फर्किनुपथ्र्यो। कार्यालयमा आउनुपथ्र्यो। अध्यक्षसँग भेट्नुपथ्र्यो । हराएको अढाइ महिना भएको मान्छे यहाँ छौं भनेर देखिनुपथ्र्यो । पहिला त यहाँ छौं भनेर माइतीघरमा टाँसेर बस्नुहुन्थ्यो, अहिले त त्यो पनि थाहा भएन। कहाँ हुनुहुन्छ, कहाँ ? यो अवस्थामा पार्टी त अगाडि बढ्नुप¥यो। महाधिवेशन आयोजना गर्नुपर्ने छ। उहाँहरूले छाडेको पार्टीको पदको कत्रो चिन्ता गरेको ? फेरि महाधिवेशनबाट आए भइगयो नि !’

निर्वाचन आयोग गुहारेकोबारे ओलीको प्रतिक्रिया छ, ‘उहाँहरूलाई झगडियाको बानी परिसक्यो। कतिपय केटाकेटी झगडा गर्छन्, निहुँ खोज्छन्। हारेपछि कुदेर आमाकहाँ जान्छन् र आमा मलाई कुट्यो भनेर पोल लगाउँछन् । उहाँहरूको बानी त्यस्तै भयो ।’

नेपालसँग सोमबार भएको भेटबारे अध्यक्ष ओलीले भने, ‘उहाँहरूलाई मैले बोलाएको हो। सम्झाउन खोजेको हो । उहाँहरूले गल्ती महसुस गर्नुपर्छ। साह्रै बितन्डा गर्नुभएको छ । पार्टी तोडाउनेसम्म काम गर्नुभयो। एकीकरणलाई भंगसम्म गराउनुभयो । दुई तिहाइको सरकार चुप लागेर चलाइराखेको भए त चलिराखेको थियो। अनमेल, बेमेल मात्र होइन, शत्रुतापूर्ण सम्बन्ध उहाँहरूले विकास गर्नुभयो ।’

कुरा मिल्यो त ? ‘यत्रा अपराध गरेर फेरि पनि ठूला कुरा गर्दै हुनुहुन्छ। मैले पो गल्ती महसुुस गरिदिनुपर्ने। उहाँहरूका पगरी लगेर फेरि टाउका–टाउकामा राखिदिनुपर्ने । यथोचित मानसम्मान दिनुपर्ने । मैले मसिनो स्वरमा बोल्नुपर्ने । उहाँहरूले चर्का स्वरमा बोल्न पाउनुपर्ने। हिजो बहुमतको धाक लगाउनुभयो, अहिले बहुमतले निर्णय गर्न नपाउने रे’, ओलीको कथन छ । लड्दै भिड्दै कोरोनाबीच धेरै काम गरेको प्रधानमन्त्रीको अभिव्यक्ति छ । अन्नपूर्ण पोस्टबाट