खानेपानीको समस्या भएपछि जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र

81
views

कालिकोट । कालिकोट जिल्लाको सदरमुकाम मान्ममा खानेपानीको समस्या भएपछि यहाँका नागरिक समाजले ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ र मानव अधिकार समूह खाँडाचक्रले जिल्ला प्रशासन कार्यालयलाई खाँडाचक्र नगरपालिका र वडा कार्यालयलाई पत्र दिएका हुन् ।

केही महिनादेखि सदरमुकाम मान्ममा खानेपानी आउन छाडेपछि सम्बन्धित निकायले चासो नदिएको भन्दै नागरिक समाजका अगुवाले सम्बन्धित निकायलाई चेतावनीस्वरुप ध्यानाकर्षण गराएका हुन् । नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई खानेपानी समस्या समाधानका लागि ध्यानआकर्षण पत्र दिएका छन् ।

अध्यक्ष विष्टसँगै सदरमुकाममा बसोबास गर्ने नागरिक समेत खानेपानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । महासंघले अहिले पनि सदरमुकाममा बसोबास गर्ने नागरिक खानेपानी खच्चडले भारी बोकेजस्तै २र३ घण्टाको बाटो हिँडेर ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न माग गरेको छ ।

सिहदरबारको अधिकार गाउँगाउँमा पुगेको नागरिकले महसुस गर्नुपर्ने अवस्थामा नागरिकका समस्या जस्ताका त्यस्तै रहेको महासंघले ठहर गरेको छ ।

सबैले स्वस्थ खानेपानी पाउनुपर्ने संविधानप्राप्त अधिकार अझै लागु नभएको भन्दै ३ वटा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र दिइएको हो। ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘ट्याङकिमा रहेको पानि पनि जिल्लाका ठुला ठूला होटल तथा निर्माणाधीन घरहरुका लागि राति चोरी निकासी गर्ने गरिएकाले तत्काल रोक्नुपर्छ ।

संयुक्त रुपमा नेपाल पत्रकार महासंघ र मानवअधिकार समूहले दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सदरमुकाममा पानीको अभाव नभएको बताए ।