कालीगण्डकी करिडोरको पर्वत मोदीवेणी–अर्मादी खण्ड अलपत्र

703
views

पर्वत, ८, बैशाख । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ । काम छाडेर निर्माण व्यावसायि नै सम्पर्क बिहीन बनेपछि यो खण्डमा ट्रयाक खोल्ने कार्य अघि बढ्न नसकेको हो ।

फाईल तस्विर


आगामी २ वर्षभित्रै पर्वत खण्डको सबै सडक कालोपत्रे सक्ने लक्ष्य राखे पनि जिल्लाभित्र अझै ट्रयाक पूरा हुन सकेको छैन । ट्रयाक खुलाउने क्रममा गत चैत २५ गत कुश्मा नगरपालिका वडा नं. ५ मोदीबेनीघाट नजिकै कालीगण्डकी नदी किनारमा एक्स्काभेटर खसेपछि यतिबेला काम रोकिएको हो ।

सुर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सडकको ट्रयाक खुलाउने क्रममा ब्रेकरले पहरो फुटाउँदै गर्दा माथिबाट आएको ढुंगाले लागी एक्स्काभेटर खसेको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख सुबोध देवकोटाले पर्वत खण्डमा मोदीबेनीको करिब ५ सय मिटर ट्रयाक खुल्न बाँकी रहेको बताउनुभयो । वैशाखभित्रै सक्ने लक्ष्य रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘छिट्टै कालोपत्रका लागि काम अघि बढाउने योजना हो । मेसिन खसेपछि काम रोकिएको छ ।’ काम कहिले सुरु गर्ने भन्ने टुंगो लागिनसकेको उहाँले बताउनुभयो ।

करिडोरअन्तर्गत पर्वतमा रानीपानी–फलेबास–ढिक खण्डको २३ किमि कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढेको । कडा चट्टान फुटाउने क्रममा मेसिनसहित मान्छे खसेर दुर्घटना भएपछि बाँकी काम कसरी अघि बढाउने भन्नेमा नै अन्योलता देखिएको उहाँको भनाई छ । झन्डै २ वर्षसम्म सम्पर्कविहीन भएको सूर्य कन्स्ट्रक्सनलाई सम्पर्कमा ल्याएर काममा लगाइएको आयोजना प्रमुख देवकोटाले बताउनुभयो ।

ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि मोदीबेनी क्षेत्रको ट्रर्याक खोल्न ढिलाइ भएको थियो । पर्वत खण्डको ३९ किलोमिटर कालोपत्रका लागि रु.एक अर्ब २३ करोड रुपैयाँ विनियोजन भएको छ । २०७५ जेठ २१ मा काम सक्ने गरी २०७३ असार २२ मा सूर्य कन्स्ट्रक्सनले सम्झौता गरेको थियो । जिम्मा लिएको १४ किमिमध्ये मोदीबेनी –फलेबास–ढिकसम्मकै केही भागको ट्रयाक अझै खोल्न सकेको छैन ।

कन्स्ट्रक्सनका प्रतिनिधि दीपक रैसवालले नयाँ मेसिन र चालक खोजेर काम अघि बढाइने बताउनुभएको छ । सडकले दक्षिणका एक नगरपालिका र ३ गाउँपालिकाको बस्ती जोड्छ । २०६२ मा पर्वतको त्रिवेणी–रानीपानी–बाच्छा हुँदै रेखांकन गरिएको करिडोर २०६४ मा बागलुङतर्फ सरेको थियो ।