बाढी पहिरो र डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह

257
views

काठमाण्डौं, १३, जेठ । आजदेखि शनिवारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेत रहन मौसमविद्हरुले अनुरोध गरेका छन् । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले नदी किनारहरुमा सतर्क भएर बस्न र कुनै खतरा भएमा सुरक्षाकर्मीलाई जानकारी गराउन भन्दै विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा रहन भनेको छ ।

सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।