कृषकलाई गाउँमै पुगेर प्रोत्साहन भत्ता वितरण

758
views

महेन्द्र जिसी
असार, १८, पर्वत । प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतका कृषकहरुलाई प्रोत्साहन भत्ता वितरण गरिएको छ । जमिन बाँझो नराख्ने कार्यक्रम अन्तर्गत कृषकहरुलाई जमिन बाँझो राख्न नदिन प्रोत्साहन भत्ताको व्यवस्था गरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । परियोजना सुरु भएको पहिलो आ.व.मा चैतेधान रोप्ने क्षेत्रका कृषकहरुलाई भत्ता वितरण गरिने कार्यालयले जनाएको छ । सिँचाईको सुविधा पुगेको र परम्परादेखि खेती गर्दै आएका ठाउँमा उत्पादनको आधारमा कृषी कार्यालय प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । कृषकहरुलाई उत्पादन वढि गरेमा त्यहि दरमा र उत्पादन हुनुपर्ने जति नभएमा क्षतिपुर्ती समेत दिने व्यवस्था रहेको छ । यसअन्तर्गत दक्षिणी पर्वतको पैयुँ गाउँपालिकाका ४०० कृषकहरुलाई एक लाख रकम प्रोत्साहन भत्ता दिईएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । असारमा कृषकहरु धेरै व्यस्त रहने भएका कारण गाउँमै पुगेर कृषकहरुलाई भत्ता वितरण गरिएको उनले जनाए । जिल्लाका तीन गाउँपालिकाका १६ वडाका चैते धान रोप्ने कृषकले उक्त अनुदान पाएका हुन् । सरकारले पहिलो पटक चैते धान खेतीमा चासो देखाएको बताउँदै आगामी वर्ष पनि यसको निरन्तरता हुनुपर्ने हुवास ४ का धनपति भुषालले बताए । हाल जिल्लाको धाईरिङ, सरौंखोला, बेउलीबास, हुवास, टकलाक, रानीपानी, त्रिवेणी, कुर्घा, पाङराङ लगायतका ठाउँमा चैतेधान रोपिने गरिएको छ । पर्वतमा जर्नेली, सीता मन्सुली, बास्मती, अनदी, झिनुवा, मकवानपुरे जातका धानखेती गरिँदै आएको छ । पर्वतको २८ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टरमा वर्षे र सात सय हेक्टरमा चैते धानको खेती हुँदै आइरहेको कृषि कार्यालयले जनाएको छ ।