एमालेको विघटित कार्यदलका सदस्यहरु छलफलमा

681
views

काठमाडौं, २, साउन । नेकपा एमालेको विघटित एकता कार्यदलका सदस्यहरु छलफलमा जुटेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुबीच पार्टी एकताको विषयमा छलफल चलिरहेको छ । कार्यदलमा रहेका नेतासँगै पृथ्वी सुब्बा गुरूङ र योगेश भट्टराई पनि बैठकमा सहभागी भएका छन् ।

शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक नेताले बताए । ‘हामी कार्यदलका साथीहरू अनौपचारिक रुपमा छलफल गर्दैछौं । एकताका लागि हाम्रो प्रयास जारी रहन्छ,’ ती नेताले भने, ‘अबको १–२ दिनमा सकारात्मक परिणाम आउने गरी छलफल गर्छौ । कार्यदलले गरेको कामलाई कसरी कार्यान्यन गर्ने भन्नेमै हाम्रो छलफल हुन्छ ।’

एमाले स्थायी समितिको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन भएको घोषणा गरेको थियो । स्थायी समितिको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम आचार्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए। तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए ।

ओलीको ध्यानाकर्षण गराएर नेपाल पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए । स्थायी समिति बैठकमा वरिष्ठ नेता नेपाल पक्षधर नेताहरु सहभागी थिएनन् । त्यसपछि बसेको संसदीय दलको बैठकमा समेत नेपाल पक्षीय सांसदहरु सहभागि थिएनन् ।