बक्यौता नपाए आन्दोलन गर्ने उखु किसानको चेतावनी

573
views

काठमाडौँ, २१, साउन । उखु किसानको बक्यौता भुक्तानीका लागि गठन भएको कार्यदल र सरकारी पक्षको बैठक आज बिहीबार बस्ने भएको छ । किसानले बक्यौता भुक्तानी नभए भदौ ५ देखि आन्दोलन गर्ने चेतावनी दिएपछि पहिलो बैठक बस्न लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले आज कार्यदलको बैठक बस्न लागेको र त्यसमा किसानका प्रतिनिधिलाई बताए । उनले कार्यदलको बैठकमा आए विभिन्न समस्यामा छलफल गर्न सकिने जानकारी दिदैें बैठकमा प्रतिवेदनमाथि छलफल हुने बताए ।

सरकार र उखु किसानबीच प्रतिवेदनका केही बुँदामा असहमति रहेको छ । त्यसै कारण उखु किसानले प्रतिवेदनमा हस्ताक्षर गर्न मानेका छैनन् ।

बिहीबारको बैठकमा जाने कि नजानेबारे छलफल भइरहेको किसान प्रतिनिधि राकेश मिश्रले बताए । कार्यदलको बैठकमा निमन्त्रणा नआएको तर आन्दोलनको सुरसार हुने बेला केही गर्नेजस्तो गरिएको तर पछि सेलाउने गरेको मिश्रले बताए ।

उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले सरकारले उद्योगीबाट जसरी पनि बक्यौता रकम दिलाइदिने भनी पाँचबुँदे सम्झौता गरेकामा त्यसअनुसार किसानले रकम नपाएपछि मन्त्रालयलाई पटकपटक जानकारी गराइएको र समस्या समाधान नभए आन्दालनमा जाने भनेर हिजो मात्रै मन्त्रालयलाई जानकारी गराएको खुलाए ।

मिश्रका अनुसार किसानले पाउनुपर्ने ९० करोड रुपैयाँमध्ये २५ करोड रुपैयाँमा विवाद छ । त्यसबारे अध्ययन गर्ने भनिएको तर प्रतिवेदनमा त्यो विषय कतै उल्लेख छैन ।