श्रद्धा र विश्वासको पर्व नाग पञ्चमी

703
views

काठमाडौं, २९, साउन । हिन्दु धार्मिक ग्रन्थहरु अनुसार नाग पञ्चमी श्रद्धा र विश्वासको पर्व हो । नाग पञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिनमा नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्दा शुभ मानिन्छ । हिन्दु धार्मिक ग्रन्थहरुमा श्रावण महिनालाई आराध्यदेव शिवको पूजा उपासना गर्न सर्वोत्तम महिनाको रुपमा परिभाषित गरिएको छ ।

यद्यपि शिवरात्रिको महिमा पनि उत्तिकै महत्वका साथ गरिएको भएतापनि श्रावण महिनामा गरिएको शिव अनुष्ठानले सजिलै शिवजीलाई प्रसन्न गराउन सकिने हुनाले भक्तजनहरुले चाहना गरेको फल यथाशीघ्र प्राप्त हुने उल्लेख गरिएको छ ।

यही मान्यतालाई आत्मसात् गर्दै सनातन हिन्दू धर्माबलम्बीहरु शिवालयमा बेलपत्र, गाईको दुध लगायतका उपचार सामाग्रीहरू चढाएर पूजाअर्चना गर्ने तथा यस महिनामा पर्ने सोमबारका दिन व्रत लिने गर्दछन् ।

आजको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ । आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरु भएको पनि मान्ने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन ।