तालिबान सरकारमा चुलियो विवाद, बरादरले छाडे काबुल

382
views

काठमाडौँ, ३०, भदौ । तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एकजना मन्त्रीबीच विवाद भएपछि मुल्लाह गनीले काबुल छाडी कंधार पुगेका छन् । बीबीसीका अनुसार अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ ।

गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । मुलुकलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो ।

तालिबान सूत्रले बीबीसीको पश्तो सेवालाई दिएको जानकारीअनुसार केही दिनअघि बरादर र खलील उर रहमानबीच भनाभन भएको थियो । दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकापसमा भिडेका थिए । खलील उर रहमान आतंकवादी संगठन हक्कानी नेटवर्कका नेता हुन् । उनलाई सरकारमा शरणार्थी मामिलासम्बन्धी मन्त्रीको जिम्मेवारी दिइएको छ ।

अफगानिस्तानमा तालिबानको जितको श्रेय कसले लिने भन्नेबारेमा शीर्ष नेताबीच होडबाजी चलेको छ । बरादरले आफ्नो कूटनीति र रणनीतिका कारण नै सत्ता कब्जा सफल भएको मान्दै आएका छन् । त्यस्तै हक्कानी नेटवर्कले भने आफ्नो बलबुतामा सत्ता हात परेको दाबी गर्दै आएको छ ।

सन् २०२० मा बरादर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुरा गर्ने पहिलो तालीबानी नेता हुन् । त्यसअघि अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताबारेको दोहा सम्झौतामा उनले तालिबानका तर्फबाट हस्ताक्षर गरेका थिए ।

अर्कोतर्फ पछिल्ला केही वर्षयता अफगानिस्तानमा अमेरिकी नेतृत्वको विदेशी सैन्य दस्तामाथि आक्रमण गर्दै हक्कानी नेटवर्कले आफ्नो प्रभाव देखिएको थियो । अमेरिकाले उक्त समूहलाई आतंकवादी संगठनको सूचीमा समेत राखेको छ । यस समूहका नेता सिराजुद्धीन हक्कानीलाई नयाँ सरकारमा गृहमन्त्रीको समेत जिम्मेवारी दिइएको छ ।