अवको चुनावमा दुई तिहाइ ल्याउँछौं : प्रचण्ड

579
views

काठमाडौं, ३०, भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आउँदो चुनावमा दुईतिहाई ल्याउने दाबी गरेका छन् । पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७ औं स्मृति दिवसको अवसरमा पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यसैका लागि मित्रहरूको खोजी गर्ने क्रममा संविधान, राष्ट्रियता र गणतन्त्रको पक्षमा मोर्चाबन्दी गरेको बताए ।

‘यसलाई बचाउनुछ गठबन्धनको बलबाट हामी दुई तिहाइको सरकार बनाउनबाट वञ्चित भएका छैनौं । त्यसैका लागि मोर्चाबन्दी गरेका हौं’, प्रचण्डले भने, ‘नेपाली जनताले कुरा बुझेको छ । खाली हामी आफूले आफैंलाई बदल्नुछ ।’

जनयुद्धमै सिद्धिन्छ भनेको माओवादी यहाँसम्म आइपुगेको भन्दै उनले भने, ‘पछिल्ला ५/७ महिनाको आन्दोलनलाई हेर्दा देश र संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी नै रहेछ भन्ने जनतामा स्थापित भइसकेको छ ।’ शान्ति प्रक्रियामा आएपछि पनि मूलधारका पार्टीले ५/७ सिटभन्दा बढी ल्याउँदैन भनेकोमा माओवादीले देखाइदिएको प्रचण्डले बताए ।