काँग्रेसमा पार्टी कब्जाको षड्यन्त्र

157
views

–बद्रिनरसिंह के.सी.

 हेर्दाहेर्दै मुलुक जीवन–मरणको दोसाँधमा पुगेको छ, तर सत्ताको अन्धो आकांक्षाले कुनै राजनीतिक दलको पनि आँखा खोलिदिन सकेन । सबै पार्टीका धुरीबाट विग्रह, स्वार्थ, सिद्धान्तहिनता र अनैतिकताको दूषित धुँवाको मुस्लो निस्किरहेको छ । कुनै पनि पार्टी आफ्नै नेताबाट बर्वादीको दुर्दशा भोग्न विवश छ र नेताका वरिपरि माफिया, तस्कर, दलाल, भ्रष्ट, चाकरीबाज, लठैत र दासहरूको बोलवाला छ भने त्यहाँ निष्ठावान कार्यकर्ताको के महत्व ! नेपाली काँगस्रभित्र नेता–निर्मित अस्तब्यस्तता दिनदिनै घनीभूत भईरहेको छ । यो पार्टीभित्र दलीय संस्कार वा संगठनात्मक चरित्रको पूरै विध्वंश भइरहेको छ । नेताहरूबाट ‘सिंहदरबारको प्राप्ति’ को अन्धो–लोभमा आफ्ना पार्टीलाई शौचालय नै बनाए । यसमा पनि नेपाली काँग्रेसको दुर्दशा झन् भयावह अवस्थामा छ ।

देउवाले विमलेन्द्र निधिलाई सार्वजनिक आश्वासन दिएका थिए, ‘चौधौं महाधिवेशनमा सभापतिको लागि मेरो उम्मेद्वार विमलेन्द्र निधि हो, मैले उनलाई बचन दिईसकेको छु’ कहाँ गयो त्यो बचन ?

लाक्षणिक रुपमा काँग्रेस साउण्ड–ट्राक बिग्रेको ग्रामोफोन रेकर्डजस्तो भयो, जसले ‘लोकतन्त्र’ शब्दको निरर्थक सुगा–रटानबाहेक केही बोल्न सक्दैन । यदुवंशी चरित्रको आपसी कलह र लुछाचुँडी, ‘अपुङ्गी राजा’ मनोवृत्ति र विग्रहको अनन्त अग्निले पार्टीलाई रुग्ण बनाईरहेको छ । कुनै पनि पार्टीको अवसान, जनविश्वास गुमाएपछि उत्पन्न अधोगति क्रमले हुन्छ । तर काँग्रेसमा चाहिं निःशर्त पाएको जनविश्वासलाई पनि लोभ, नैतिकहिनता र अराजकताले ग्रस्त नालायक नेतृत्वको कारण पार्टीलाई धराशायी बनाउने हर्कत चलिरहेको छ ।

नेकपा (एमाले) को विभाजन र दुर्दशालाई हेरेर काँग्रेस सभापति देउबाले पार्टी सम्हाल्ने र सुधारउन्मुख गराउने कोशिश गरेको देखिएन । अरुको पार्टी फुटेको दुर्दशा हेरेर देउबालाई सच्चिन मन रहेनछ भन्ने यथार्थले उनी स्वयं सत्ताको लागि काँग्रेसलाई इतिहासमा पहिलोपटक २०५९ मा फुटाएको घटनाका रचनाकार भएकोले वर्तमानमा समेत त्यही मानसिकताबाट पार्टी सभापति पदमा विराजमान भएको निष्कर्ष बन्नपुग्छ । नेपालको राजनीतिक इतिहासमा आफ्नो पार्टी फुटाएर हिंडेको व्यक्ति त्यही पार्टीमा फर्केर सर्बोच्च पदाधिकारी भएको रेकर्ड नै छैन । तर अपवादस्वरुप गिरिजाप्रसाद कोइरालाले देउबालाई पार्टीमा रेड कार्पेट विछ्याएर भित्य्राए र काँग्रेस सभापति हुने बाटो खोलिदिए । पार्टी अनुशासनलाई तिलाञ्जली दिएर रचिएको यही अराजकतावादी घटना काँग्रेस अधोगतिको विन्दु बन्यो ।

खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा उनैको ‘स्याटेलाईट पार्टी’ बन्नुलाई देउबाले सहजरुपमा अंगीकार गरेका थिए । प्रमुख प्रतिपक्षको जिम्मेवारी बोकेको देउवा नेतृत्वको काँग्रेसले प्रतिपक्षी बेञ्चमा मुर्दाशान्ति थोपरेर ओलीको शासनलाई काँध हालेकै हो । २०७४ को स्थानीय निर्वाचनताका माओवादीको भरिया बनेर आफ्नो नेतृत्वको पार्टीलाई अभुतपूर्व धक्का दिनमा पनि उनको भूमिका निर्णायक थियो । यसरी पालैपालो एमाले र माओवादीको तावेदारी गरिरहँदा काँग्रेस अरूको बैशाखीबिना उभिन वा हिंड्न नसक्ने औकातमा पुग्यो । आफ्नै पार्टी पनि सुसंगठित बनाउने महानताले होइन सभापति पद ओगटिरहने उग्रभोकबाट ग्रसित भएपछि आज यो दुर्दशा काँग्रेसले भोग्नु परिरहेको हो ।

आज पनि काँग्रेसको स्वाभिमान गिराउँदै, माओवादी र माधव नेपाल नेतृत्वको कम्युनिस्ट पार्टीप्रति देउबाको निर्लज्ज तर लज्जास्पद चाकरी, गर्नेलाई भन्दा देख्नेलाई कुरीकुरीलाग्दो भईरहेको छ । काँग्रेसका संस्थापक नेता, आधुनिक नेपालका अधिष्ठाता एवं प्रजातान्त्रिक आन्दोलनका अतुलनीय योद्धा सुवर्ण शम्शेरको समकक्षी बनाउँदै कम्युनिस्ट नेता झलनाथ खनाललाई ‘राष्ट्र गौरव विभूषण’ दिने घोषणा, प्रचण्ड पत्नी सीता दाहाललाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र माधव नेपालका स्वर्गीय पिता मंगलप्रसाद उपाध्यायलाई ‘प्रबल जनसेवाश्री’ बाट विभूषित गर्ने प्रधानमन्त्री तथा काँग्रेस सभापति देउबाबाट भएको चाकरी संस्कार तथा तावेदारी मानसिकताको द्योतक सिवाय केही होइन ।

तेह्रौं महाधिवेशन (२०७२) को बेलामा सभापतिको उम्मेद्वारी घोषणा गरेको सन्दर्भमा देउबाले हालका उपसभापति विमलेन्द्र निधिलाई सार्वजनिक रुपमै आश्वासन दिएका थिए, “चौधौं महाधिवेशनमा सभापतिको लागि मेरो उम्मेद्वार विमलेन्द्र निधि हो । मैले उनलाई बचन दिईसकेको छु ।” कहाँ गयो आज त्यो बचन ? पाँचपटक मुलुकको प्रधानमन्त्री भएर पाँचौंपटक पनि पार्टीको नयाँ पुस्ताका होनहार नेतृत्वलाई जिम्मेवारीको मौका दिन नचाहने प्रवृत्ति, काँग्रेसलाई फलेको फुलेको हुन नचाहने घातक मनोवृत्ति हो । विमलेन्द्र निधि लगायत गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ्, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे आदि पार्टीमा नेतृत्व सम्हाल्न सक्ने नयाँपुस्ताका पचासौं नेताहरू स्थापित भईसकेका छन् । तर देउबालाई पार्टी सभापतिको हैसियतले भावी काँग्रेसको नेतृत्वबारे चिन्तन, चिन्ता र संवेदनशीलता एकरत्ती देखिएन ।

काँग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरले ६५ वर्षको उमेरमा आफूसँग भएको कार्यबाहक सभापति पद जननायक बीपी कोइरालालाई फर्काउनु भयो । पार्टीका संस्थापक नेता बीपीले ६३ वर्षको उमेरमा २०३४ सालमा कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति पद जिम्मा दिनुभयो । बीपीले नै २०३६ सालमा आफैं प्रधानमन्त्री बन्ने लोभ नदेखाएर परशुनारायण चौधरीलाई बनाउने सार्वजनिक घोषणा गर्नुभयो । सर्बोच्च प्रजातन्त्रवादी नेता गणेशमान सिंहलाई २०४७ मा राजाले प्रधानमन्त्री बन्न प्रस्ताब गर्दा उहाँले काँग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई प्रस्तावित गर्नुभयो । राजाबाट पनि सो प्रस्ताबलाई सहज रुपमा स्वीकार गरेपछि किसुनजी अन्तरिम कालको प्रधानमन्त्री बन्नुभयो । यस्तो आदर्श संस्कार र लोकतान्त्रिक परम्परा भएको काँग्रेसमा आज देउबाट सारा लोकतान्त्रिक पद्धति, आचरण र संस्कारलाई ध्वस्त गरी सबै आफैं हुने, तर बिगार्नु बाहेक केही नगर्ने चरित्रको बोलवाला बढेर गयो ।
त्यही दुर्दशा आज देउबाकै गृहजिल्ला डडेलधुराकै कार्यकर्ता समुदायमा प्रदर्शित भइसकेको छ । प्रहरीको कडा सुरक्षा घेरामा काँग्रेसको वडा अधिवेशन गराउनु पर्ने अवस्थाले देउबाकै राजनीतिक पराजय र दयनीय अवस्थालाई झल्काईरहेको छ । तर नैतिकता र आदर्शलाई बाधक वा बेकारको कुरा ठान्ने देउबालाई यस्ता कुराले छँुदैन । आफ्नो अभिमान बढाउँदा पार्टीको स्वाभिमान गिरेको अनुभूति नगर्ने उनीजस्ता नेताबाट काँग्रेसको स्वाभिमानको अपेक्षा गर्नु, त्यस्तो अपेक्षा गर्नेकै राजनीतिक मूर्खता ठहर्छ । यस्ता नेताबाट काँग्रेसको महाधिवेशन, यसका लोकतान्त्रिक आदर्श र परम्पराअनुरुप निष्पक्ष, पारदर्शी, न्यायोचित र स्वच्छ तरिकाले हुनसक्छ भन्ने अपेक्षा गर्ने आधार नै रहँदैन । अबको नेतृत्व पनि देउबालाई नै दिने र नेतृत्वबाट यस्तै गतिविधि निर्वाध चलिरहने हो भने ‘काँग्रेस’ नामको पार्टी त रहला तर निर्णायक राष्ट्रिय शक्ति हुन कदापि सक्दैन ।

अर्कातिर, काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गतिविधि र भूमिका पनि देउबाका हर्कत र मनपरिलाई नियन्त्रण गर्ने ताकत बन्न सकेन, केवल देउबाको भागबण्डामा उनले निगाह गरेको सानो भागमा चित्त बुझाउने रवैया मात्र देखियो । काँग्रेसका ५० भन्दा बढी बहालवाला जिल्ला सभापतिहरू उनीबाट केही होला भन्ने संगठित अपेक्षा राख्दछन् । तर आफ्नो निजी अस्तित्वको चिन्ताबाहेक सामुहिक हितको पक्षमा केही पनि गर्न नसक्ने र देउबाविरुद्ध पार्टीभित्र उर्लिरहेको लहरलाई संवोधन गर्न पनि नसकेको नालायकी मात्र प्रदर्शित गरिरहेका छन् ।

कोरोना महामारीले थिलथिलो बनाएको, ‘लोकतान्त्रिक गणतन्त्र’ को नाममा ‘समाजवादउन्मुख’ यसअघिको ओली शासनले अस्तब्यस्त पारेको, तस्कर, कालोबजारिया तथा आर्थिक अपराधी अर्थतन्त्रमा हावी भएको, भ्रष्टाचारले दयनीय तथा कहालीलाग्दो अवस्थामा पु¥याएको, ‘राजनीतिक महाभारत’ले सामाजिक प्रणाली ध्वस्त बनाएको, विदेशी हस्तक्षेपले गिजोलेको, बिखण्डनकारी नियतले टाउको उठाएको, गरिखाने युवाशक्ति बेरोजगार र आजित भएर विदेश पलायन भइरहेको जस्ता भयावह परिसूचकका बीच देशको सबभन्दा जेठो र प्रजातन्त्रवादी पार्टी काँग्रेस आफ्नो चौधौं महाधिवेशनतिर गइरहेको छ । नसुध्रिएको काँग्रेस नेतृत्वले चौधौं महाधिवेशनमा पनि घुँडा टेकेर सत्ताको अनैतिक र सिद्धान्तहिन आशक्ति देखाएर सभापति पद कायम राख्न खोजेको देखिन्छ । देउवा–नेतृत्वको काँग्रेसको भविष्य खतरनाक मोडमा पुगेको वास्तविकता देउबाबाहेक सबैमा जाहेर भईसक्यो ।