एनआरएनएमा राजनीतिक हस्तक्षेप, विद्यमान समस्या र बढ्दो वितृष्णा

726
views

नआरएनए NRNA एउटा मात्रै यस्तो नेपालीहरुको संस्था हो जसले विश्वभरिका नेपालीहरुलाई एउटै भावनामा गाँसेर नेपाल र नेपालीहरुको लागि काम गर्दछ भन्ने छ । २००३ बाट शुरु भएको यो संघ अहिले विश्वका ८६ भन्दा धेरै देशहरुमा फैलिएको छ । यति हुँदाहुँदै पनि कोरियामा मात्र नभएर विश्वमा नै रहेका धेरै नेपालीहरुलाई एनआरएनएले समेट्न नसकेको कुरा प्रष्ट छ ।      बुझ्नैपर्ने कुरा के छ भने, सबैलाई सक्रिय रुपमा समेट्न नसकेपनि यसले सबैको लागि काम चै गरेको छ । विषेश गरेर, अन्तराष्ट्रिय समितिदेखि कोरिया तथा अन्य मुलुकहरुमा अहिले श्रमिकहरुको बारेमा उठाएका मुद्दा र त्यसलाई कतिसम्म सम्बोधन गरिरहेको छ यदि सम्बोधन गरेको छ भने अहिले केही समय यता चैँ अलिक नैराश्यता किन छाएको छ ?

यहाँको बौद्धिक तह र तप्कासँग यो पंक्तिकारले गरेको कुराकानी संस्थागत विकासका लागि हो । एनआरएनए नेपालको व्यवस्था र अवस्थाका कारण विदेशीन वाध्य विदेशी नेपालीहरुको संस्था हो । संस्थामा आउने कुनैपनि नेतृत्वले राजनीति नै गर्ने हो भने संस्थाबाट राजीनामा दिएर नेपालमै गई ईच्छाइएको पार्टीबाट राजनीति गर्दा उपयुक्त होला । नेपाली दल र तिनैको प्रवृतिले विदेशीएका हामीहरुलाई कुनैपनि राजनीति गर्नु छैन् । राजनीतिको भूत हटाएर विदेशीएका नेपालीहरुको अदभूत देख्नेहरु मात्र नेतृत्वमा पुगुन । जय एनआरएनए ।

विश्वका अन्य देशमा पनि एनआरएनएमा थुप्रै समस्याहरु देखिदै र सुनिदै आईरहेको छ । तर, म आँफु कोरियामा रहेको हुनाले पनि मलाई अलि बढी चासो कोरियामा रहेको एनआरएनएमा गयो । किन बढ्दै छ समस्याको चाङ ? NRNA–NCC दक्षिण कोरियाको नवौ राष्ट्रिय महाधिवेशनको निर्वाचन जुलाई २९ र ३० मा सम्पन्न हुन गईरहेको छ यसका लागि धमाधम विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्नेक्रम भइसकेको छ । दक्षिण कोरियास्थित संघ-संस्था समाजसेवी, सञ्चारकर्मी, व्यवसायी, विध्यार्थी एवं सम्पुर्ण श्रमिकहरुलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता सहितका घोषणापत्रहरु सार्वजनिक गर्दै उम्मेदवारहरु यतिबेला आफ्नो पक्षमा जनमत ल्याउनकै लागि भागदौडमा लागिरहेका छन् । तर, यहाँस्थित आम नेपाली श्रमिक विध्यार्थी एवं आम जनमानसमा आउँदै गरेको एनआरएनको निर्वाचनलाई लिएर कुनैपनि किसिमको उत्साह देखिदैन । त्यसको फलस्वरूप साधरण सदस्य लिएर मात्रै मताधिकार पाईने संस्थामा स्वतस्फूर्त रुपमा जम्मा कोरियन वन २० हजार तिरेर सदस्यता लिन ठुलो संख्या इच्छुक छैन् । लगभग ६० हजार नेपाली श्रमिक रहेको देशमा हालसम्म लगभग पाँच हजार जनाले मात्रै सदस्यता लिइएको पाईएको छ । त्यो पनि धेरै मात्रमा उम्मेदवारहरुले नै आफ्नो गोजीबाट रकम तिरेर भोटर तयार पार्ने लहर चलिरहेको छ । यो लहर यसपटक मात्रै होईन प्रत्येक निर्वाचनपूर्व चलिरहेको छ । किन तयार छैनन् त आम श्रमिकहरु स्वतस्फूर्त रुपमा मताधिकार लिन ? यति ठुलो संस्थाको साधरण सदस्य बन्न किन चाहिरहेका छैनन् कोरियाबासी नेपाली ? यस्तै जिज्ञासा सहित मैले केही सरोकारवालाहरुसंग कुरा गरेर केही हदसम्म भएपनि खुल्दुली मेटाउने प्रयासले मात्रै यो पंक्तिकारलाई यो बिषयमा लेख्न मन लागेको हो ! हुन त म कोरियामा अध्यनरत विद्यार्थी । म यो संस्थासँग त्यति धेरै नजिक छैन । अध्ययन सँगसँगै समय निकालेर गर्ने सञ्चारकर्मीको कर्मले पनि म अलि बढी यहाँका श्रमिक एवं साधारण ब्यक्तिहरुसंग अझै निकटतम भएको महशुस गरेको छु । यहीँ क्रममा मैले धेरै श्रमिकहरुले NRNA प्रति देखाएको नैराश्यता देखेको बुझेको कारण पनि यसको कारण बुझ्न मन लागेको हो । यसैक्रममा मैले केही यस्ता ब्यक्ति छनौट गरे जसले सम्पुर्ण कारणहरुको जवाफ केही हदसम्म दिन सकुन् यसै क्रममा विगत लामो समयदेखी कोरियामा आम श्रमिकको रुपमा रहेर श्रमिकहरुलाई सहयोग गर्दै एउटा नाम स्थापित गर्न सफल श्रमिक भिम सिंह ठकुरी (बिबी सिंह) सँग कुरा गर्दा एनआरएनए बारे उहाँको प्रतिक्रिया यस्तो पाएँ ।

पहिले यस NRNA बारेमा खासै थाहा थिएन वा चासो पनि थिएन । जब कोरोनाको बेलामा कोरोना किट किन्न NRNA ले अभियान चलायो ३/४ दिनमा झण्डै २ करोड भन्दा बढी नेपाली रुपैयाँ जम्मा भयो भन्ने लाग्छ । पछि त्यो रकमको स्पष्ट हिसाव/किताव बाहिर आएन भन्ने सुनियो, ग्रुपहरुमा विरोध भएको धेरै देखियो र NRNA ले पनि बुझाउन सकेन जस्तो लाग्छ त्यो बेलादेखि नै नेपालीहरुको NRNA प्रतिको वितृष्णा बढेजस्तो लाग्छ ।

अनि अर्को कोरोनाकै बेलामा चाटर्ड प्लेन गर्न NRNA ले पहल गर्‍यो र कोरियन एअरसँग मिलेर महँगो भाडा असुल्नमा NRNA को हात छ भन्ने सबैको बुझाई छ । तर, त्यसको बारेमा NRNA कहिल्यै आधिकारिक रूपमा बोलेको देखिन । NRNA को संग्लग्नता नहोला तर आम कोरियावासीलाई बुझाउन जरूरी देखिन्छ । पारदर्शिताको कमि धेरै देखियो । यसभन्दा अगाडीको नेतृत्वको बेलामा NRNA को सदस्यता फर्म भर्दा स्पष्ट नबुझाएरै SIM कार्डको फर्म भर्न लगाईयो यसरी व्यक्तिगत सुचना एउटा पसललाई बुझाउनु ठिक थिएन यसको पनि बिरोध भएको थियो ।

अनि अर्को कुरा NRNA मा नेपालका दलहरुसंग सम्बन्धित भएर गुट बनाएर उम्मेदवारी दिएको देखिन्छ । हामी सबै विदेशीनु एउटै कारण हो देशमा भएको राजनीतिक अस्थिरता । जसका कारण देशले विकासको गति लिन सकेन र वेरोजगारी बढेसंगै हामीसँगै धेरै नेपालीहरु विदेशीनु परेको हो । त्यहि राजनीतिक दलसँग वाक्कदिक्क भएका हामी आम नेपाली विदेशमा पनि त्यहि दलको गुट बनाउनु अर्को वितृष्णाको कारण हो ।

यी प्रतिनीधिमुलक घटनामात्र हुन् । यस्ता धेरै घटनाहरु छन जस्ले NRNA प्रति वितृष्णा बढाएका हुन् । सँस्था कहिल्यै गलत हुन सक्दैन । तर, त्यस संस्थालाई कस्ले नेतृत्व गर्‍यो ? र कति पारदर्शीमुलक काम गर्‍यो भन्ने कुराले महत्व राख्छ । अझै केही बर्ष यो वितृष्णा कायमै रहने देख्छु मैले । अब आउने नयाँ नेतृत्वले कसरी काम गर्छ त्यसमा पनि भर पर्छ । धन्यवाद !

एनआरएनएप्रति बढ्दै गएको वितृष्णा त छँदैं त्यसमा पनि राजनीतिक मोह विकराल रुपमा बढ्दै गएका बेला पर्वत समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष एवं युवा व्यवसायि दिपक केसीकोप्रति पनि यस्तै क्रिया रहेको छ । एनआरएनए भनेको एउटा विशुद्ध गैर राजनीतिक, संसारभर छरिएर रहेका बिभिन्न तह र तप्काका नेपालीहरुको हक अधिकार र समस्याको सहज समाधानको लागि गठित एउटा साझा संस्था हो । यो कुनै विचार र वादबाट निर्देशित/उत्प्रेरीत नभई स्वतन्त्र मूल्य र मान्यतामा आधारीत साझा संस्था हो र हुनुपर्छ भन्ने मेरो मान्यता हो । तर, विगत बर्षदेखि यो संस्था पनि आफ्नो उद्देश्य र आदर्शबाट बिचलित हुँदै आएको र राजनीतिबाट अलि धेरै नै प्रभावित र हस्तक्षेप बढेको हो कि भन्ने प्रष्ट देख्न सकिन्छ । यसको ज्वलन्त उदहारण नजिकिदै गरेको एनआरएनए दक्षिण कोरियाको अधिवेशनको तयारीलाई हेर्दापनि प्रष्ट बुझ्न सकिन्छ । जहाँ श्रमिकमैत्री, सामाजिक भावनाले प्रेरित, भिजन र एजेण्डा भन्दापनि पैसा र शक्तिको आडमा श्रमिक कब्जा अभियान चलाएर आफ्नो नाम, दाम र स्वार्थ पुर्तिका लागि शक्ति प्रदर्शन हो कि भन्ने अनुभूति गर्न सकिन्छ । यो तरिकाबाट आउने जो कोही नेतृत्व श्रमिकमैत्री हुन सक्दैन । आगामी नेतृत्व एनआरएनएको मुल मर्म बुझेको योग्य, सक्षम र सहयोगी भावना सहित श्रमिकमैत्री विचार र एजेण्डा बोकेर आउन जरुरी छ । यसका लागि हरेक तह र तप्काका प्रवासी श्रमजीविहरु सचेत र सजग भएर विवेक प्रयोग गर्न जरुरी देखिन्छ ।

हाल कोरियामा अध्यापन गराईरहनु भएका प्रोफेसर डा.बोजेन्द्र तुलाचन एनआरएनए बारे भन्नुहुन्छ श्रमिकहरुको समस्यालाई खासै एजेण्डा नबनाएको उनीहरुलाई अफ्ठ्यारो पर्दा नजिकबाट नबुझेको र खासै श्रमसँग सम्बन्धित कानूनी उपचारको पहल नगरेको हुँदा उनीहरुमा एनआरएनएप्रति वितृष्णा जाग्दै गएको जस्तो मलाई लाग्दछ ।

त्यसपछि मैले संस्थामा रहेर काम गरिसक्नुभएका पूर्व अध्यक्ष राजु क्षत्रीसँग कुराकानी गरें उहाँले उत्साहित नभएको कुरा स्विकार्दै पछिल्लो समयमा श्रमिकहरुका समस्याहरु तल्लो स्तरसम्म गएर सम्बोधन गर्न नसक्नुले पनि यस्तो भएको बताउनुहुन्छ ।

पूर्व महासचिव एवं आईसीसी सदस्य डा. बिमल सुबेदीसंग कुरा गर्दा यस पछाडी विभिन्न कारण रहेको स्विकार्दै नेतृत्वबाट विगतमा भएका गल्ति कमजोरी/नेतृत्वमा रहेका/आउने पात्रहरुको आचरण र कार्यशैली :- विगतका समय समयमा फरक नेतृत्वबाट आर्थिक पारदर्शितामा भएका कमजोरी, विवादित तथा NRNA अभियान नै नबुझेका तर आर्थिक सबलता र साम्प्रदायिक वा राजनैतिक आस्थाका नेतृत्वमा आएका पात्रहरुले खेलेका भूमिका तथा व्यवहार, सेवाभन्दा सम्मान, आसन ग्रहण र मान प्रतिष्ठाप्रतिको लोलुपता ।
२. व्यवहारिक समस्या र यथार्थताबीच रहेको दुरी :- समग्रमा NRNA अभियानका अभियानकर्ता अनि संघको नेतृत्वले आफ्ना पंजीकृत सदस्यको चाहना, आवश्यकता र व्यवहारिक समस्याको समाधानमा भन्दा टाढा रहेर उठान गरेका एजेन्डाप्रति सदस्यहरुको अरुचि र अनाआकर्षण । साथै संघ र सदस्यहरुबीच रहेको संवाद र सम्बन्धमा रहेको दुरी, आफ्ना समस्या, आवश्यकता र चाहना नेतृत्व समक्ष स्पस्ट रुपमा राख्न नसक्दा उत्पन्न भएको परिस्थिति ।
३.अत्याधिक अपेक्षा :- दक्षिण कोरियामा रहनुभएका नेपालीहरुको NRNA कोरियासंग नेपाली राजदुतवासजस्तै अपेक्षाहरु रहेका छन् जुन व्यवहारिक तथा श्रोत र साधनका अभावका कारण सम्भव छैन । यो एउटा नितान्त स्वयं सेवाको अभियान हो र यसका आफ्नै सिमितता छन् ।
४. पुर्वग्राही सोंच तथा विरोधका लागि विरोध गर्ने शैली :- अनेकन कमि कम्जोरीबीच NRNA कोरिया दिनानु दिन थप परिमार्जित र परिस्कृत भएको छ र सो को लागि प्रयत्नहरु अघि सारिएको छ । तर, आँफु समर्थित राजनैतिक दल, समुदाय र सम्प्रदायको प्रतिनिधि पात्र नभएको अवस्थामा हिजोको गल्ति कमजोरीको भारी नयाँ समिति र नेतृत्वलाई बोकाउने सामाजिक व्यक्तित्व र अभियन्ताहरुको आलोचना शैली ।
५. काम र दिएका सेवाको सहि प्रचार हुन नसक्नु :- NRNA कोरियाले विभिन्न समयमा गरेका काम, गतिविधि र दिएका सेवाको सही माध्यम तथा प्रभावकारी ढंगले सदस्यहरु माझ सम्प्रेषण गर्न नसक्नु ।

एनआरएनए आईसीसीको उप-महासचिव डा. देवी बस्नेतले जन्मिदाको संस्था र हुर्क्यौलो संस्थाबारे भिन्न रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ :- एनआरएनए एउटा मात्रै यस्तो नेपालीहरुको संस्था हो जसले विश्वभरिका नेपालीहरुलाई एउटै भावनामा गाँसेर नेपाल र नेपालीहरुको लागि काम गर्दछ । यसको स्थापनाकाल देखिनै स्वच्छ र पवित्र उद्देश्यलाई सबैले मनन र आत्मासाथ गर्दै अघि बढ्नुपर्दछ । २००३ बाट शुरु भएको यो संघ अहिले विश्वका ८६ भन्दा धेरै देशहरुमा फैलिएको छ । धेरै सदस्य र बिभिन्न क्षेत्रमा बसोबास गरेका नेपालीहरुको आ-आफ्नै प्रकारको पृष्ठभूमी भएका कारणले कहिलेकाँही विचारमा भिन्नता हुनु स्वभाविक नै हो । आपत परेको बेलामा सबैले एकसाथ काम गर्ने धेरै उदाहरणहरु छन् । कोरियाकै उदाहरण लिने हो भने, कोभिडको बेलामा नेपालमा पुर्‍याएको सहयोगलाई लिन सकिन्छ ।

यति हुँदाहुँदै पनि कोरियामा मात्र नभएर विश्वमा नै रहेका धेरै नेपालीहरुलाई एनआरएनएले समेट्न नसकेको कुरा प्रष्ट छ । ८० लाख भन्दा बढी नेपाली भएको ठाउँमा करिब एकलाख मात्र रेजिष्टर्ड सदस्यहरु छन् ।

बुझ्नै पर्ने कुरा के छ भने, सबैलाई सक्रिय रुपमा समेट्न नसकेपनि यसले सबैको लागि काम चैं गरेको छ । विषेश गरेर, अन्तराष्ट्रिय समितिदेखि कोरिया तथा अन्य मूलुकहरुमा अहिले श्रमिकहरुको बारेमा उठाएका मुद्दा र श्रमिकहरुको लागि गरेका कार्यहरुको लिष्ट लामै छ । श्रमिकहरुको लागि संचय कोषको स्थापनाको पहल, कोभिडको बेलामा आपतमा परेका नेपालीहरुको लागि बिभिन्न देशमा गरेको सहयोग आदि लिन सकिन्छ । कोरियाको नै उदाहरण लिऊँ न ! श्रमिकहरुको लागि काम गरेको छैन र ? कर्मचारीको ब्यवस्था गरेर बेला बेलामा काउनसेलिङ गर्नेदेखि लिएर अनलाईन मार्फत आवश्यक कार्यक्रमहरु आयोनजा गर्नाले धेरैलाई फाईदा भएको छ । तपाईहरुले हेर्नुभयो भने, अहिले केहि समय यता चैं अलिक नैराश्यता छाएको देखेको छु । यसको पछाडी नेपालमा भएका राजनैतिक पार्टीहरुको नकारात्मक प्रभाव नै हो । यो संघ एउटा गैर राजनैतिक संस्था हो । यसलाई त्यसरी नै बुझेर सञ्चालन गर्नुपर्नेमा त्यो हुनसकेको छैन ।

हामीहरुले यसलाई सञ्चालन गर्नको लागि केही परिवर्तन गर्न खोजौं तर धेरैलाई सुहाउँदो भएन । जस्ले झन्डै फुटको संघारमा पुग्यो । यसको प्रभाव कोरियामा पनि परेको छ । हामीसँग धेरै उद्यमशील तथा ज्ञान विज्ञानका कार्यक्रमहरु छन् । त्यस्ता कार्यक्रमहरुलाई नियमित रुपमा जनसमुदाय विचमा लैजानु पर्छ । एनआरएनएले गर्ने गरेका कार्यहरुको सकारात्मक प्रचार भन्दा नकारात्मक रुपमा प्रचार बढि भयो । कतिले यसलाई एउटा सानो क्षेत्रिय संस्थाको रुपमा हेरेर यसका नियम पालना नगर्ने र आँफु खुशी गर्नाले ब्यक्तिगत टक्रावले संस्थागत रुपमा हानी पुर्‍याएका उदाहारणहरु पनि छन् । जसको प्रभाव हामीहरुमा परेको छ । कोरियामा छोटो समयको काम गरेर नेपाल फर्कने नेपालीहरुको संख्या धेरै छ । उनीहरुको लागि एनआरएनएले विषेश इपिएस-लक्षित कार्यक्रमहरु ल्याउन सकेको छैन । जस्ले नेतृत्व गर्यो प्राय विवादमा तानिए । कतिले ब्यक्तिगत त कतिले राजनैतिक टकराव ! सकारात्मक रुपले सोचेर काम गर्ने वातावरण भएन । नेपालीहरुले नै आफ्नो स्वर्थको लागि नयाँ आगन्तुकहरुलाई प्रयोग गर्ने गरेको देखियो र समाजमा असमानजस्य पैदा भयो । जुन एनआरएनए मनि देखियो ।

यति भन्दै गर्दा बुझ्नै पर्ने कुरा चैं के हो ? भने यो एउटा नेपालमा तथा कोरियामा रजिष्टर्ड भएको र नेपाल सरकारले नेपाल र नेपालीहरुको विकासको लागि साझेदारी संघको रुपमा काम गर्न चाहेको छ । यस्ता धेरै उदाहरणहरु मध्ये भर्खरै नेपाल सरकारले एनआरएनहरुलाई विषेश “एनआरएनए” नागरिकता सम्बन्धि विधेक पारित गरेको छ । विषेशः एनआरएनएको विश्व ज्ञान सम्मेलनहरुमा नेपाल सरकार र विदेशमा बस्ने एनआरएनहरु (विज्ञहरु, प्रध्यापकहरु, ब्यवसायिहरु) को संलग्नतामा कार्यक्रमहरु भएका छन् ।
कसरी बढाउने यसको प्रभाव :-
– सकारात्मक सोच
– ठुलो संख्यामा भएका कोरियाका नेपालीमुलक कार्यक्रमहरु ल्याउने ।
– कार्यक्रमहरु दिर्घकालिन र उध्यमशीलतासँग सम्बन्धित तथा कोरियाको प्रविधि नेपालमा भित्र्याउन सहयोग हुनेखालका कार्यक्रमहरु ल्याउने ।
– विभिन्न दुर्घटनामा परेका नेपालीहरुलाई सहयोग गर्न एउटा दिर्घकालीन कार्यक्रम ल्याउने जसमा कोरियाका ब्यवसायिहरु तथा श्रमिकहरुको सह-कार्यको नेतृत्व एनआरएनएले गरोस् ।
– नेपालीहरुलाई ठगेर दुःख दिने नेपालीहरुलाई नेपाली समाजबाट पहिचान गरि कार्वाही गर्न जोड गर्ने ।
– कोरियामा भएका धेरै नेपालीहरुका समुहलाई एकताबद्ध गरि सामुहिक कार्यमा प्रेरणा दिने र नेतृत्व गर्ने ।

अन्त्यमा अहिलेका अध्यक्ष दिपक पुनसंगको कुराकानीमा सामाजिक संस्थाको रुपमा स्थापित गर्नुपर्ने र र त्यसरी नै यसलाई बुझिदिनुपर्ने बताउनुहुन्छ । आफ्नो कार्यकालमा कोरोनाको माहामारीले गर्दा धेरै काम गर्न कठिनाई भएपनि सक्दो कोशिश गरेको उहाँको ठहर छ । आफ्नो पालोमा होम पेज निर्माण, श्रमिकहरुलाई कानूनी परामर्श, वकिल उपलब्ध गराएर मुद्दाहरुमा सहयोग, घुम्ती सेवा उपलब्ध लगायतका कार्यहरू गरेर केही सुधार गर्दै लगेको बताउनुहुन्छ । उहाँले कुनै कार्यकालमा भएका कमिकम्जोरीका कारण अहिले निराशजनक अवस्था देखिएपनि आफ्नै कार्यकालमा सबैभन्दा बढी साधारण सदस्यता लिनेको संख्या रहेको भन्दै यसलाई उपलव्धिका रुपमा लिएको उहाँको भनाई छ । अब आउने कार्यसमितिलाई काम गर्न सहज भएको भन्दै यदि राम्रो टिम आएको खन्डमा आगामी दिनमा श्रमिकले आफैं खोजेर आउने संस्थाको रुपमा स्थापित हुने छ ।

यहाँको बौद्धिक तह र तप्कासँग यो पंक्तिकारले गरेको कुराकानी संस्थागत विकासका लागि हो । एनआरएनए नेपालको व्यवस्था र अवस्थाका कारण विदेशीन वाध्य विदेशी नेपालीहरुको संस्था हो । संस्थामा आउने कुनैपनि नेतृत्वले राजनीति नै गर्ने हो भने संस्थाबाट राजीनामा दिएर नेपालमै गई ईच्छाइएको पार्टीबाट राजनीति गर्दा उपयुक्त होला । नेपाली दल र तिनैको प्रवृतिले विदेशीएका हामीहरुलाई कुनैपनि राजनीति गर्नु छैन् । राजनीतिको भूत हटाएर विदेशीएका नेपालीहरुको अदभूत देख्नेहरु मात्र नेतृत्वमा पुगुन । जय एनआरएनए ।

                           -कमला केसी
(पत्रकार एवं सचिव  पत्रकार महासंघ दक्षिण कोरिया)