खाद्यका खसीबोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ

525
views

काठमाडौँ । सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आज (शनिबार) बाट खसीबोका बिक्री सुरु गर्ने पनि जनाएको छ । चाडबाडको मुखमा खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारी घोषणाअनुसार बिक्रीमूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

‘खसीबोकाको निर्धारित मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ हो । प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री मूल्य ६ सय ४० रुपैयाँ तोकेका छौं,’ खाद्य कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले भनिन्, ‘शुक्रबारसम्म करिब ७ सय ३० खसीबोका ल्याइसकेका छौं ।

शनिबार थापाथली गोदामबाट बिक्री सुरु गर्छौं  ।’ उनका अनुसार खसीबोका तुलसीपुर र मकवानपुरबाट भित्र्याइएको हो । खाद्य कम्पनीले दाङ क्षेत्रबाट २५ किलोदेखि माथिका खसी प्रतिकिलो ५ सय ६५ रुपैयाँ, २० देखि २५ किलोका खसी प्रतिकिलो ५ सय ५० रुपैयाँ र बोका प्रतिकिलो ५ सय ४५ रुपैयाँमा खरिद गरेको हो । उक्त खरिद मूल्यमा प्रतिकिलो झन्डै सय रुपैयाँ जोडेर बिक्री मूल्य तय भएको छ  ।