ग्लास्गो पुगे प्रधानमन्त्री देउवा

357
views

काठमाडौं, १५, कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो पुगेका छन् ।

यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ग्लास्गो पुगेका हुन् ।

स्थानीय समयानुसार उनी आज दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् । भ्रमणका दौरान उनले भोली मंगलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री देउवाले भोली नै श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।

अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।