नेपाली बाटो हुँदै जनगणना टोली छाङरु र तिङ्करतर्फ

827
views

दार्चुला, ५, मङ्सिर । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार बेलुका वा सोमबार बिहानसम्म कार्यस्थलमा पुुग्नेछ ।

छाङरु र तिङ्कर गाउँमा ११५, एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घरपरिवार छन्  । छाङरु र तिङ्करको जनगणना गर्न गणकलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि नेपाली भूमि हुँदै जोखिमपूर्ण बाटो प्रयोग गरेर त्यसतर्फ गएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए ।

व्यासको वडा नम्बर १ बाहेक दार्चुलाका ६० वडामा शुक्रबारसम्म ८० प्रतिशत जनगणनाको काम सकिएको जनगणना पनि पाण्डेले बताए ।

अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भने जिल्लाबाट भौतिक रूपमा जनगणना गर्न सकिने अवस्था छैन ।