माइक्रोसफ्ट च्याम्पियनसीप २०२२ का राष्ट्रिय विजेतालाई अवार्ड

501
views

राजाराम पौडेल
पोखरा, १९, मंसिर । माइक्रोसफ्ट अफिस स्पेसलिस्टवल्ड च्याम्पियनसीप २०२२ को लागि रजिष्ट्रेसन खुलेको छ । माइक्रोसफ्टको नेपालको लागि राष्ट्रिय पार्टनर, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर माइक्रोसफ्ट अफिस स्पेसलिस्टवल्ड च्याम्पियनसीप २०२२ को रजिष्ट्रेसन खुलाइएको घोषणा गरेकोे हो । यो माइक्रोसफ्टले गर्ने अन्तरािष्ट्रय प्रतियोगिता हो ।

माइक्रोसफ्ट अफिस वर्ड, माइक्रोसफ्ट अफिस एक्सल र माइक्रोसफ्ट अफिस पावरपोईन्टको २०१६ र २०१९ को ६ विधामा प्रतियोगीले सहभागीता जनाउन सक्नेछन् । १३ वर्षदेखि २२ वर्ष उमेर समुहका विद्यार्थीले यो प्रतियागितामा भाग लिन पाउनेछन् । रजिष्ट्रेसन शुल्क ३ हजार ४ सय ९० रुपैयाँ लाग्ने नेपालको लागि राष्ट्रिय पार्टनर, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक दिनेश लामिछानेले बताए । रजिष्ट्रेसन फाराम देशभर जिल्ला पार्टनरहरुबाट भर्न सकिने लामिछानेले जनाए । अनलाइन मार्फत रजिष्ट्रेशन गर्न सकिनेछ ।

सोही कार्यक्रममा सूचना प्रविधी क्षेत्रको विश्वको सबै भन्दा ठुलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप-२०२१ नेपालको राष्ट्रिय विजेतालाई अवार्ड वितरण गरिएको थियो ।

प्रतियोगिताको माइक्रोसफ्ट अफिस पावरपोईन्ट २०१६ नेपाल च्याम्पियन-२०२१ को उपाधी विश्व आदर्श विद्यालयमा अध्ययनरत सुनसरीका गौरब चौधरी, माइक्रोसफ्ट अफिस पावरपोईन्टको २०१९ नेपाल च्याम्पियन-२०२१ कोउपाधी हेटौडाका आयाम अवलले जितेका थिए ।

यस्तै माइक्रोसफ्ट अफिसवर्ड २०१६ नेपाल च्याम्पियन-२०२१को उपाधी स्काई राईडर माध्यमिक विद्यालयमा अध्ययनरत रत्ननगर चितवनकी दिपीका पण्डित, माइक्रोसफ्ट अफिस वर्ड २०१९ नेपाल च्याम्पियन-२०२१ को उपाधी सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत ओखलढुङ्गाका दिपेश श्रेष्ठले हात पारेका थिए । माइक्रोसफ्ट अफिस एक्सल २०१६ नेपाल च्याम्पियन-२०२१ को उपाधि सिन्धुपाल्चोकका अभिनाश गुरागाई, र माइक्रोसफ्ट अफिस एक्सल २०१९ नेपाल च्याम्पियन-२०२१ को उपाधि एग्रिकल्चर र फरेष्टी विश्व विद्यालयमा अध्ययनरत ताप्लेजुङ्गका जेशिस ओझाको पोल्टामा परेको थियो ।

देशभरबाट सहभागी ४ भन्दा बढी विद्यार्थीहरु मध्यबाट राष्ट्रिय चरणको लागि ८३ जना विद्यार्थी छनौट भएका थिए । भदौ १३ र १४ मा भएको राष्ट्रिय चरणको परिक्षाबाट प्रत्येक विधामा एक-एक जना गरी ६ जना राष्ट्रिय बिजेता छनौट भएको लामिछानेले बताए ।

यसरी छानिएका ६ जना बिजेताहरुले १०८ राष्ट्रका राष्ट्रिय बिजेताहरुसँग अन्तराष्ट्रिय राउण्डमा प्रतिस्पर्धा गरेका थिए । जसबाट नेपालका गौरव चौधरी छैटौँ र अविनाश गुरागाई ८ औँ स्थानमा आएका थिए । यो महत्वपूणर् उपलब्धी भएको लामिछानेको दावी छ । ‘२०२१ मा गौरव चौधरी छैटौँ र अविनाश गुरागाई ८ औँ स्थानमा आए, सन् २०१३ मा नेपालबाट सहभागी हिमाल श्रेष्ठ अन्तराष्ट्रिय विजेता बन्न सफल भएका थिए । आगामी दिनमा पुनः नेपाल अन्तराष्ट्रिय विजेता बन्न सक्ने सम्भावना देखिएको छ’ उनले भने ।

यो प्रतियोगितामा सहभागी हुने प्रतियोगीले विभिन्न प्रोजेक्ट गर्नुपर्ने हुन्छ । एक हजार नम्बरको परिक्षामा उत्रिणर् हुन ७ सय नम्बर ल्याउनुपर्नेछ । यसरी उत्तिणर् हुनेले माइक्रोसफ्ट सटिफाई प्रमाणपत्र हात पार्नेछन् ।

धेरै विद्यार्थीलाई यो प्रतियोगितामा सहभागी गराउन १५ वटा राष्ट्रिय पार्टनर मार्फत ४२ जिल्लामा यो कार्यक्रम पुर्‍याइएको छ । यो वर्ष यसलाई बढाउदै ६० जिल्लामा कार्यक्रम पुर्‍याउने लक्ष्य राखिएको लामिछानेले बताए ।

माइक्रोसफ्ट अफिस स्पेसलिस्टवल्ड च्याम्पियनसीप २०२१ को राष्ट्रिय विजेता अवार्ड वितरण तथा २०२२ को लागि रजिष्ट्रेशन घोषणा कार्यक्रम दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका संस्थापक सविना लामिछानेको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा कम्प्युटर एशोसिएसन नेपालका केन्द्रिय सचिव जगनबहादुर गुरुङ, कास्की अध्यक्ष रुक्वाङगत भण्डारी विश्वास, सुनसरी, मोरङ र झापाका डिष्ट्रिक पार्टनर टेकनाथ भट्टराई, मकवानपुरका श्रवणकुमार श्रेष्ठ, चितवन र नवलपुरका महेन्द्र सापकोटा, सुर्खेतका प्रकाश खनाल, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका प्रमुख दिनेश लामिछाने, विपना घिमिरे लगायतले प्रतियोगतिाको महत्वको बारेमा बोलेका थिए । प्रतियोगितामा सहभागी प्रतियोगीले आफ्ना अनुभव समेत सुनाए ।