उम्मेदवार तय गर्न काँग्रेस शिर्ष नेता छलफलमा

647
views

काठमाडौँ, २२, मंसिर । नेपाली काँग्रेसका शीष नेताहरू पार्टीको १४ औँ महाधिवेशनका लागि उम्मेदवार तय गर्न समूहगत छलफलमा व्यस्त भएका छन् । महाधिवेशनमा उम्मेदवारी दर्ताको समय नजिकिएपछि काँग्रेसका शीर्ष नेताले छलफललाई तीव्र पारेका हुन् ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट पदाधिकारी एवं केन्द्रीय नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार छलफल गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू भने राजधानीको चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा छलफलमा जुटेका हुन् ।

सभापति देउवाले पार्टीको महाधिवेशनका लागि उम्मेदवार तय गर्नका लागि नेताहरूसँग सल्लाह लिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

नेपाली काँग्रेस संस्थापन पक्ष एकमत भएर जाने प्रस्ट छ । सभापति पदमा देउवाले पुनः उम्मेदवारी दिने बताइसकेका छन् ।

अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि भने छलफल जारी छ । प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारीका उम्मेदवारहरूको नाम सहमतिमै तय गर्ने गरी छलफल भइरहेको जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार छलफलमा प्रधानमन्त्री देउवासँगै नेता गोपालमान श्रेष्ठ, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका प्रभावशाली नेताहरू सहभागी थिए ।