नाटक लेखन कार्यशाला सकियो

642
views

राजाराम पौडेल
पोखरा १३, पुस । पोखरामा आयोजित ११ दिने नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना तथा पोखरा थिएटरसँगको सहकार्यमा पौष १ गतेबाट सुरु भएको कार्यशालामा ८ जना प्रशिक्षार्थी सहभागी बनेका थिए । कार्यशालाको सहजीकरण निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले गर्नुभएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यशाला समापन समारोहमा बोल्दै कुलपति विखर्चीले गण्डकी प्रज्ञा प्रतिष्ठानले निरन्तर रुपमा यस्ता कार्यशालाको आयोजना गर्ने बताउनुभयो । समापन समारोहका प्रमुख अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आगामी दिनमा समेत प्रतिष्ठानले नाट्य क्षेत्रमा कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले कार्यशालामा सहभागी प्रशिक्षार्थीको सिकाइ प्रतिको लगाव तारिफ योग्य रहेको बताउनुभयो । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक लेखन कार्यशाला वार्षिक रुपमा सञ्चालन गर्ने बताउनुभयो । यस्ता कार्यशालाले युवा नाटककार उत्पादन गर्न सघाउने उहाँको विश्वास छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले नाटक लेखन कार्यशालामा सहभागीको उत्साह तथा प्रशिक्षकको सहजिकरण गर्ने शैलीबाट प्रभावित भएको सुनाउनुभयो ।

कार्यशालामा सहभागी रिता ज्ञवालीले कार्यशालाले नाटक लेख्ने जोश बढेको बताउनुभयो । नाटक लेख्ने प्रोसेसको बारेमा नयाँ ज्ञान थपिएकोले नाटक लेखनमा निखारता थपिने उहाँको विश्वास छ । अर्का सहभागी शरद भण्डारीले जीवनका सबै भन्दा प्रभावकारी कार्यशालाको रुपमा ११ दिने नाटक लेखन कार्यशाला रहेको बताउनुभयो । कार्यशाला मार्फत ज्ञानका कारण नियमित नाटक लेखनमा उर्जा थपिएको सुनाउनुभयो ।

कार्यशालामा सहभागी हुनेमा गुल्मीकी रिता ज्ञवाली, झापाकी गीता बुढाक्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी, कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

देशभरबाट आवेदन दिन मिल्ने गरी खुल्ला रुपमा आवेदन खुलाइएकोमा आवेदन दिने मध्येबाट ८ जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको कार्यशालाका संयोजक एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका संगीत नाट्य तथा संस्कृति विभाग प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना भएको समापन समारोहमा स्वागत पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्ण प्रसाद भण्डारी र सञ्चालन गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो ।