उखुको मूल्य तोक्न ढिलाइ

414
views

सर्लाही, १९, पुस । सरकारले उखुको मूल्य नतोक्दै सर्लाहीका चिनी उद्योग सञ्चालनमा आउन थालेका छन् । उखु काट्न ढिला हुँदा खेतमै सुक्ने डर र अर्को बाली लगाउन पनि ढिला हुने भएकाले उखुको मूल्य तय नभए पनि किसान चिनी उद्योगलाई उखु दिन बाध्य भएका हुन् ।

अहिले किसान र उद्योगीबीच उखुको मूल्य तय भएको छैन । सरकारले मूल्य निर्धारण गरेपछि सोही मूल्य भुक्तानी गर्ने सहमति उद्योग र किसानबीच भएपछि किसानले उखु दिन थालेका हुन् । जिल्लाका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग बिहीबार र महालक्ष्मी सुगर मिल शुक्तबारदेखि सञ्चालनमा आएका छन् ।

हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगका प्रबन्धक योगनारायण रजकले मूल्य तय भइनसके पनि किसानले उखु दिन थालेपछि उद्योग सञ्चालनमा आएको जानकारी दिनुभयो । किसानको उखु बोकेका ट्रक र ट्याक्टरले इन्दुशङ्कर चिनी उद्योगको यार्ड भरिभराउ भइसकेको छ । दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको इन्दुशङ्करले गत वर्ष २२ लाख १६ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो ।

त्यस्तै सर्लाहीकै दक्षिणी क्षेत्र गोडैता नगरपालिकाको बगदहमा रहेको महालक्ष्मी सुगर मिल पनि शुक्रबारदेखि सञ्चालनमा आएको छ । महालक्ष्मीले गत वर्ष आठ लाख ९० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । यो उद्योग जिल्लाको दोस्रो ठूलो चिनी उद्योग हो । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल भने यस वर्ष पनि सञ्चालनमा सम्भावना न्यून छ ।

उद्योगका सञ्चालक राकेशकुमार अग्रवालसँग ज्ञानप्रसाद भट्टराईलगायतको समूहले यसै वर्षदेखि उद्योग सञ्चालन गर्नेगरी चिनी मिल खरिद गरेको थियो तर अहिलेसम्म नामसारी हुन नसकेकोलगायतका समस्या रहेकाले उक्त उद्योग यस वर्ष सञ्चालनमा आउने सम्भावना कम रहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

किसानको भुक्तानी दिन नसकेपछि अन्नपूर्ण सुगर मिल दुई वर्षदेखि सञ्चालनमा आएको छैन । गत वर्ष किसानको बाँकी बक्यौता भुक्तानी गरे पनि उद्योगको स्वामित्व नामसारीलगायत प्रक्रियामा ढिलाई हुँदा उक्त उद्योग यस वर्ष सञ्चालनमा नआउने सम्भावना बढेको हो । उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले उखुको मूल्य तोक्ने काममा सरकार र उद्योगपतिले ढिलासुस्ती गरिरहेको आरोप लगाउनुभएको छ । गत वर्ष उखुको मूल्य ५३६ रुपिया ५६ पैसा तोकिएको थियो ।
मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा यस वर्ष २५ हजार हेक्टर हाराहारीमा उखु खेती भएको अनुमान गरिएको छ । गोरखापत्र अनलाईनबाट