अधिकांशमा पुग्यो मोबाइल इन्टरनेट

802
views

काठमाडौँ, १२, जेठ । देशको अधिकांश जनसङ्ख्यामा मोबाइल इन्टरनेट पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको फागुनसम्मको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ९८.४१ प्रतिशत अर्थात् दुई करोड ८५ लाख ९१ हजारमा मोबाइल इन्टरनेट पुगेको छ ।

मोबाइल इन्टरनेट प्रयोग गर्नेमध्ये धेरैले फोरजी सेवा प्रयोग गरेका छन् । फोरजी सेवा प्रयोग गर्नेको सङ्ख्या एक करोड ६६ लाख ३७ हजारले फोरजी प्रयोग गर्छन् । यीमध्ये ९८ लाख ९३ हजारले नेपाल टेलिकमको फोरजी प्रयोग गर्छन् भने ६५ लाख ८३ हजारले एनसेलको फोरजी प्रयोग गर्ने पाइएको छ । एक लाख ५९ हजारले स्मार्ट टेलिकमको फोरजी प्रयोग गरेको तथ्याङ्कमा उल्लेख छ ।

फोरजी प्रयोगकर्ताको सङ्ख्या बढ्दा थ्रीजी प्रयोग गर्नेको सङ्ख्या भने घटेको छ । फागुनसम्म देशभर एक करोड १९ लाख ५४ हजारले थ्रीजी प्रयोग गरेका छन्, जसमध्ये नेपाल टेलिकमका ९९ लाख ४३ हजार थ्रीजी प्रयोगकर्ता छन् भने एनसेलका २० लाख १० हजार थ्रीजी प्रयोगकर्ता छन् ।

देशभर फिक्स्ड (तारमार्फत) इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या कुल जनसङ्ख्याको २९.५८ प्रतिशत अर्थात् ८६ लाख ३४ हजार रहेका छन् । फिक्स्ड इन्टरनेटमध्ये पाँच लाख १३ हजारले टेलिकमको एडीएसएल सेवा प्रयोग गर्छन् भने फाइबरमार्फत उपलब्ध गराइने इन्टरनेटका प्रयोगकर्ता ८१ लाख २० हजार छन् । सात लाख ५१ हजारले टेलिकमको फिक्स्ड इन्टरनेट प्रयोग गर्छन् । बाँकी ७३ लाख ६८ हजारले निजी क्षेत्रका कम्पनीले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेट प्रयोग गर्छन् ।

मोबाइल र फिक्स्ड इन्टरनेट प्रयोगकर्तालाई पनि जोड्ने हो भने देशभर इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या १२८.३८ प्रतिशत पुगेको छ अर्थात् जनसङ्ख्याभन्दा बढी आकारमा इन्टरनेटको पहुँच पुगेको देखिएको छ । एउटै प्रयोगकर्ताले दुई भिन्न सेवा प्रदायकको इन्टरनेट प्रयोग गरे पनि त्यसलाई छुट्टै प्रयोगकर्ताका रूपमा गणना गरिने भएकाले जनसङ्ख्याभन्दा बढीमा इन्टरनेटको पहुँच देखिने गरेको प्राधिकरणले जनाएको छ । देशभर मोबाइल सेवाको पहुँच भने १४३.५५ प्रतिशतमा पुगेको प्राधिकरणले जनाएको छ जसमध्ये टेलिकमका दुई करोड २३ लाख २९ हजार जीएसएम मोबाइल प्रयोगकर्ता छन् ।

त्यस्तै तीन करोड १९ लाख सीडीएमए प्रयोगकर्ता छन् । एनसेलका मोबाइल प्रयोगकर्ताको सङ्ख्या एक करोड ६८ लाख ८६ हजार पुगेको छ । स्मार्ट टेलिकमका २३ लाख ७१ हजार प्रयोगकर्ता छन् । सबै सेवा प्रदायकको गरेर चार करोड १९ लाख मोबाइल प्रयोगकर्ता रहेका छन् ।

बजार हिस्साको हिसाबले नेपाल टेलिकम अग्रणी स्थानमा छ । नेपालको दूरसञ्चार बजारमा टेलिकमले ५४.९३ प्रतिशत हिस्सा ओगटेर सबैभन्दा ठूलो सेवा प्रदायकका रूपमा रहेको छ । दोस्रो स्थानमा एनसेलको ३९.५२ प्रतिशत बजार हिस्सा रहेको छ भने स्मार्ट टेलिकमको ५.५ प्रतिशत बजार हिस्सा रहेको छ । गोरखापत्र अनलाईनबाट