पर्वत अस्पतालका ६ भवनका सामान गायब

594
views

महेन्द्र जिसी
पर्वत, २०, जेठ । आर्थिक कार्यविधि नियमावली २०६४ परिच्छेद ७ मा व्यवस्था भएको लिलामी प्रकृयामा कुनैपनि सरकारी सम्पत्ति अनिवार्य लिलामी गर्नुपर्ने प्राबधान छ । परिच्छेद ७ को उप नियम ११ र मा जिल्ला प्रशासन कार्यालय कोष तथा लेखा नियन्त्रकको कार्यालय, जिल्ला मालपोत कार्यालयको रोहवरमा सम्बन्धित कार्यालयले सूचना निकालेर लिलामी गर्नुपर्ने सामानको मुल्य कायम गरी लिलामी प्रकृया गराउनुपर्ने व्यवस्था छ ।

परिच्छेद ७ कै उप-नियम १७ मा निर्माण भएका भौतिक संरचना भत्काई लिलाम बिक्री गर्दा भत्काउन लाग्ने खर्च र मालसामान बिक्री गर्दा प्राप्त हुने रकमको आइटम वाइज लागत अनुमान तयार गरी न्यूनतम मूल्य मानी लिलाम सम्बन्धी कारबाही गर्नुपर्ने व्यवस्था छ ।

तर पर्वतको जिल्ला अस्पतालका पुराना भवनको कुनैपनि सामानको लिलामी भएको छैन । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले २०७४ सालमा भत्काईएको भवनका समानको अभिलेख आँफुहरुसँग नभएको बताए ।

२०७४ सालमा निर्माण थालिएको अस्पतालका ६ वटा भवन भत्काइएका थिए । नयाँ भवन निर्माण भईसकेको भएपनि पुराना भवनका सामानको लिलामी नभएको हो । अस्पतालका अन्तरङ र वहिरङ विभागका भवनका सहित प्रशासनिक भवन र आवासका भवनहरु भत्काइएको भएपनि तिनिहरुको सामान कहाँ छन अस्पतालमा अभिलेख समेत छैन ।

ठुला ठुला ६ भवनका धेरै सामानहरु भएको तर लिलामी नभएको जिल्ला जनस्वाथ्य कार्यालय पर्वतले समेत बताएको छ । जनस्वाथ्यका सूचना अधिकारी जयन्द्रमान गुरुङले १४ शैयाको अस्पतालको भवनका समाग्री र प्राविधिक फाँटका सामनहरुको लिलामी भएको थाहा नभएको बताए ।

भत्काइएका भवनका उपयोगी सामानहरु कर्मचारी तथा तत्कालीन व्यवस्थापन समितिका पाधिकारीहरु मार्फत आँफुखुसी वितरण भइसकेका छन । भने केही कुहिएका अवस्थामा रहेका छन । औजार उपकरणकहरु पनि अस्पतालको गल्लीमा अलपत्र फालिएका छन । करीव दशलाख भन्दा बढीका जस्ता तथा काठ र अन्य सामानहरु लिलामी प्रकृया विना नै हराएका हुन । जसको खोजी अस्पताल प्रशासनले अझै गरेको छैन । पुराना भवन भत्काएर अहिले ५० शैयाको भवन निर्माण भई पर्वत अस्पतालमा सञ्चालनको तयारीमा रहेका हो ।