एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणमा नेपाल जोर्डनसँग पराजित

535
views

काठमाडौं, २६, जेठ । एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणमा नेपाल जोर्डनसँग पराजित भएको छ । वुधवार राती भएको खेलको दोस्रो हाफमा खाएको दुई गोलमा नेपाल एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणमा जोर्डनसँग २–० ले पराजित भएको हो ।

गोलकिपर दीप कार्की र रक्षक विकास तामाङले डेब्यू गरेको खेलमा नेपालले पहिलो हाफमा बलियो टोली जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण नियमित गोलकिपर तथा कप्तान किरण चेमजोङसहित अर्का गोलकिपर विशाल श्रेष्ठ र विकेश कुथुले टिममा नपरेपछि दीपले मौका पाएका हुन् ।

त्यस्तै सिनियर खेलाडी रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्तीमगर, तेज तामाङ, विशाल राई, सुमन लामालाई टोलीबाट बाहिर राख्दै अल्मुताइरीले नयाँ अनुहार समेटेका थिए । खेलाडीहरुले अलमुताइरीको ‘तानशाह’ कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका थिए ।

कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाल अधिकांश समय दबाबमै खेलेको थियो । डेब्यू गरेका दीपले पेनाल्टी बचाएका थिए । दीपले ४३औं मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानले हानेको पेनाल्टी प्रहार बचाएका थिए । नेपालका रक्षक गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । तर, जोर्डनले उक्त अवसरमा नेपालका गोलकिपर दीप तगारो बनेका थिए ।

तर, दोस्रो हाफमा भने नेपालले जोर्डनलाई रोक्न सकेन । ६९औं मिनेटमा जोर्डनले अलियाद ओल्वानले गरेको गोलबाट जोर्डनले अग्रता लियो । ८२ औं मिनेटमा जोर्डनले अर्को पेनाल्टी अवसर पायो । नेपालका सुमन अर्यालले मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले दोस्रो पटक पेनाल्टीको अवसर पाएको थियो । तर, दोस्रो पटक भने दीपले बचाउन सकेनन् । हम्जा अलीअलदाराद्रेहले पेनाल्टीमा गोल गरेपछि जोर्डनले तीन अंक पक्का गरेको हो ।

जितसँगै महत्वपूर्ण तीन अंक जोडेको जोर्डन समूह ‘ए’को शीर्ष स्थानमा छ । समान तीन अंक नै जोडेको इन्डोनेसिया दोस्रो स्थानमा छ । कुवेत तेस्रो र नेपाल चौथो स्थानमा छ ।गएराति नै सम्पन्न अर्को खेलमा इन्डोनेसियाले कुवेतलाई २–१ ले हराएको थियो ।

तेस्रो चरणको छनोट प्रतियोगिताबाट हरेक समूहका शीर्ष टोलीले चीनमा हुने एसियन कप २०२३ स्थान बनाउनेछन् । त्यस्तै दोस्रो स्थानमा हुने उत्कृष्ट ५ ले पनि प्रतियोगितामा स्थान बनाउनेछन् ।