भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

375
views

काठमाण्डौं, २३, भदौ । साफ १७ वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । गएराति श्रीलङ्कामा भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।

कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले एक÷एक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । सिमान्तले खेलको ५७औँ मिनेटमा गोल थपे ।

खेलको ६८ औँ मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काए पनि त्यसपछि गोल थप्न नसक्दा पराजित भयो । जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भुटान भारतसँग ३–० गोलले पराजित भएको थियो ।

अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल भोलि भारतसँग खेल्नेछ ।