पर्वतमा मकैबाली जोगाउन बाँदर धपाउने ड्युटी

612
views

गोपाल जिसी
पर्वत, २६, जेष्ठ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वार्ड नं–९ साविक कटुवाचौपारी गाविसमा मकैबाली तथा धानको बीउ जोगाउन वाँदर कुर्ने पालोको समय तालिका सार्वजनिक गरिएको छ । जसमा कुश्मा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामशर्मा लामिछानेलाई पनि बाँदर धपाउने ड्युटी परेको छ ।

बाँदरले मकैबालीमा उदण्ड मच्याएपछि जनावरको बाँच्न पाउने अधिकारलाई सुरक्षित गरी बाँदर धपाउने ड्युटी आँफुलाई पनि परेको लामिछानेले बताए । उनले भने ‘मेरो पनि खेतीपाती यहिँ नै छ, म पनि यहाँको स्थानीय हुँ जेठ ३० गते पालोको दिन मैले पनि बाँदर धपाउन दिनभर ड्युटी गर्नुपर्छ ।’

बाँदर धपाउन १५ दिनपछि पुनः ड्युटी गर्नुपर्ने स्थानीय भुवन नेपालीले जानकारी दिए । गाउँमा बाँदरले खेतीबाली नष्ट गरेपछि हिउँदेखेती मकैबाली जोगाउन विहान ४ बजेदेखी साँझ ७ः३० बजे सम्म खेतमा छाप्रो राखी बाँदर धपाउने ड्युटी गर्न स्थानीयलाई प्रत्येक दिन एकघर एकजनालाई पालो लगाइएको लामिछानेले जानकारी दिए ।

अहिले कालीगण्डकी तथा मोदीखोलाको भिरमा बस्ने साढे दुईसय बाँदरको फौज गाउँमा प्रवेश गरी खेतीवाली नष्ट गरिरहेको छ ।

यसैगरी पत्रकार राजवावु पिसीलाई पनि बाँदर धपाउने ड्युटी परेको छ । पिसी पनि यहाँका स्थानीयवासी हुन् । पिसीले आफ्नो खेतीमा लगाएको मकैबाली जोगाउन एकदिन बाँदर धपाउने ड्युटी गर्नुपर्ने पालोमा परेका छन् ।