ललिता निवास जग्गा प्रकरणमा २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता

287
views

काठमाण्डौ, १०, भदौ । ललिता निवास जग्गा प्रकरणमा दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । बालुवाटारको प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पु¥याएको भन्दै मुद्दा दर्ता भएको हो ।

ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामा चार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई सय ९० जनालाई प्रतिवादी बनाइएको छ ।

उनीहरुबाट १८ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ । सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । कार्यालयले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साहलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

यस्तै पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगो र रविन्द्रमान जोशीलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ ।

त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरूमाथि किर्तेको अभियोग भने छैन तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी किर्ते र सङ्गठित अपराधमा अनुसन्धान गरे पनि सरकरी वकिल कार्यालयले सरकारी किर्तेमा मात्र मुद्दा दर्ता गरेको हो ।

ललितानिवासको जग्गाबारे २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो ।