एमसीसी अमेरिका फिर्ता पठाउन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आव्हान

297
views

काठमाण्डौ, १०, भदौ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एमसीसीलाई फिर्ता पठाउन आव्हान गरेको छ । सो पार्टीका महासचिव बैद्यले राष्ट्रघाती एमसीसीका विरुद्ध एकजुट हुन आम जनसमुदायलाई आग्रह समेत गरेको छ ।

बैद्यद्वारा जारी वक्तव्यमा भनिएको छ–नेपाल सरकार र अमेरिकाको एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का बीच सन् २०१७ मा राष्ट्रघाती संझौता गरी नेपाललाई विद्युत प्रसारण लाइन र सडक विस्तार गर्नका लागि भनेर रु. ५६ अर्व अनुदान दिइने भनियो । अनि यो संझौता नेपालको विकास निर्माण र गरिबी निवारणका लागि अति उपयोगी, अचुक औषधी र रामवाणै हो भनेर ढोल पिटियो । चौतर्फी जनताको विरोधका बावजुद. यस संझौतालाई २०७८ फागुन ८ गते संसदीय मूल्य मान्यता विपरीत तथा असंबैधानिक तवरबाट थ्रेसहोल्डको प्रावधान राखी संसदबाट अनुमोदन गरियो । उक्त कदम नेपाल र नेपाली जनताका निम्ति थोपरिएको गम्भीर राष्ट्रघात हो ।

संसदवादी, राष्ट्रिय आत्मसमर्पणवादी, दलाल तथा नोकरशाही शासकहरु यही २०८० भाद्र १४ गतेदेखि राष्ट्रघाती एमसीसी सम्झौता कार्यन्वयन गर्ने षडयन्त्रमा जुटिरहेका छन् । उक्त सम्झौता अमेरिकी साम्राज्यवादको सुरक्षा विभागको हिन्द प्रशान्त रणनीतिसँग अभिन्न रुपमा जोडिएर आएको छ ।

यसको कार्यन्वयनले नेपाल राष्ट्रको संवेदनशील भू–राजनैतिक अवस्थितिको दुरुपयोग भई शक्ति राष्ट्रहरुको क्रीडास्थल बन्ने र देशको स्वाधीनता नै नामेट हुने अवस्थाको सन्निकट पुग्दै छ । यस संगीन घडिमा राष्ट्रघाती एमसीसी सभ्झौताको खारेज गर्न तथा सो सम्झौता अमेरिकामा फिर्ता पठाई देशको स्वाधीनताको रक्षा गर्न संघर्षमा सहभागिताको निम्ति हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरुलाई हार्दिक अपील गर्दछ ।