अवरुद्ध विराटनगर विमानस्थल आजदेखि सञ्चालन

724
views

विराटनगर, ३, भदौ । बाढी पसेर एक सातादेखि अवरुद्ध विराटनगर विमानस्थल आजदेखि सञ्चालन हुने भएको छ। अघिल्लो शुक्रबारको भारी वर्षापछि बाढी पसेको विमानस्थल सातादिनयता ठप्प थियो।
३० घन्टाभन्दा लामो भारी वर्षापछि फोहोरसहितको बाढी विमानस्थल पसेपछि धावनमार्गमा समेत दुई फिटसम्म हिलो जम्दा हवाई सेवा अवरुद्ध बन्न पुगेको हो। शुक्रबार साँझसम्म विमानस्थलको धावनमार्ग सफाइ सकिएकाले हवाई सेवा सुचारु गर्न लागिएको हो।
विमानस्थलका प्रवक्ता सन्तोष ढकालले धावनमार्ग साथै मैदानमा जमेको हिलो सफाइ गरिसकेको हुँदा आजदेखि अपराह्नदेखि उडान गर्ने तयारी गरिएको बताए। उनका अनुसार केही दिन दिउँसोको मात्रै उडान हुनेछ।
‘हामीले जहाज अवतरण र उडान गर्न सक्ने गरी धावनमार्गको फोहोर सफा गरेका छौं,’ उनले भने भने, ‘तत्काललाई दिउँसोको मात्र उडान भर्न सकिने गरी विमानस्थल तयारी भएको छ।’
विमानस्थल क्षेत्रमा भएका विभिन्न लाइट तथा सांकेतिक उपकरणमा पनि बाढीबाट क्षति पुगेकाले रात्रि तथा खराब मौसममा उडान भर्न नसकिने प्रवक्ता ढकालले बताए। ‘बिग्रिएका सामानको मर्मत गरेर नियमित उडान भर्न अझै केही दिन लाग्छ,’ उनले भने।
आज सौर्य एयरलायन्स, यति एयरलायन्सलगायत कम्पनीले उडान भर्ने तालिका छ। विमानस्थलका अनुसार यी कम्पनीले शनिबारका लागि यसअघि नै टिकट बुकिङ खुलाएका थिए। टिकट बिक्रीअनुसारै आजदेखि उडान भर्न लागिएको सौर्य एयरलायन्स विराटनगर स्टेसन इन्चार्ज सन्तोष पौडेलले बताए।
प्रवक्ता ढकालका अनुसार शनिबार विराटनगरबाट पाँच उडान हुनेछन्। जसमा यति एयरलायन्सले दुई उडान भर्दा सूर्य एयरलाएन्सले तीन उडान भर्ने छ। बुद्ध र नेपाल एयरलायन्सले सोमबारदेखि मात्रै उडान भर्ने भएका छन्।
यसअघि विमानस्थलबाट चार हवाई सेवा प्रदायक कम्पनीले दैनिक १५ वटासम्म उडान भर्दै आएका थिए। तर, विमानस्थलमा बाढी पसेर अवरुद्ध बनेसँगै सबै उडान ठप्प भएको थियो । हवाई सेवा ठप्प भएसँगै एयरलाइन्स कम्पनीलाई दैनिक लाखौंको नोक्सान हुँदै आएको थियो।
विमानस्थलको हिलो हटाउन हटाउन नेपाली सेनाको १ सय ५० जनाको टोली, विमानस्थलका कर्मचारी र विभिन्न एयरलायन्सका कर्मचारी खटिएका थिए। उनीहरूले एक्स्काभेटर, दमकललगायत उपकरण प्रयोग गरेर धावनमार्गमा जमेको लेदो फालेका हुन्।