रेडक्रसद्वारा अस्पताल, बजार र ग्रामीण क्षेत्र सरसफाई

869
views

नवदृष्टि संवाददाता
गोरखा, ३१ भदौ । नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाको आयोजनामा आज ५ औं राष्ट्रव्यापी सरसफाई दिवस (सेप्टेम्बर १६ ) को अवसर पारेर गोरखा अस्पताल र बजार क्षेत्र भित्र रहेका फोहोर संकलन गरी अस्पताल परिसर र बजार क्षेत्र र ग्रामीण क्षेत्र सफाई गरिएको छ ।

सोसाईटीका गोरखा जिल्ला सभापति भगवानबाबु मास्केको अगुवाईमा भएको कार्यक्रममा गोरखा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. श्रीराम तिवारी, जिल्ला शाखा गोरखाका उपसभापति शंकर बहादुर कुँवर, मन्त्री राजेन्द्र न्यौपाने, कोषाध्यक्ष रामशरण आचार्य, उप–मन्त्री भीमसेनकाजी बानियाँ, सदस्य डिलमान गुरुङ, भूकम्प प्रतिकार्य कार्यक्रमका गोरखा जिल्ला संयोजक शिव प्रसाद सुवेदी, गोरखकाली उपशाखाका पदाधिकारी तथा सदस्यहरु, रेडक्रसका कर्मचारी, स्वयंसेवकहरु लगायत ३० जनाको सहभागिता रहेको थियो । संकलन भएका फोहोर सम्बन्धित स्थानमा लगेर व्यवस्थापन गर्न गोरखा नगरपालिकालाई जिम्मेवारी प्रदान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी अन्तर्गत रहेका उपशाखाहरु मध्ये श्रीनाथकोट, बुंकोट, पालुङटार, विरेनचोक, मिरकोट, जौवारी, ताप्ले, मनकामना, गाँखु उपशाखाले स्वाथ्य चौकी तथा स्थानीय बजार सरसफाई गरेका छन् । सर सफाई कार्यक्रममा सदरमुकामको तुलनामा ग्रामीण क्षेत्रका मानिसहरुको सहभागिता उल्लेख्य रह्यो ।

यस बाहेक अन्य समयमा पनि नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला मातहत रहेको उपशाखा, जुरेस÷युरेसले स्वास्थ्य चौकी, वडा कार्यालय, स्थानीय महिला समूहरुको सहभागितामा सरसफाई अभियान चलाउँदै आएका छन् ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले गोरखा अस्पताल, हरमटारी, कालिमाटी, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गरिएको हो । हाम्रो फोहोर, हाम्रो जिम्मेवारी, यसपाली फाहोर, छुट्याउँछौं हामी भन्ने नारा सहित यो वर्ष सरसफाई दिवस मनाइएको हो ।

सन् २०१३ देखि क्लिन अप नेपालको संयोजनमा र विभिन्न साझेदार संस्थाहरुको सहभागितामा दिवस मनाईँदै आएको छ ।