महेश बस्नेतको सानदार जित, दमननाथ ढुङ्गानालाई राजनीतिक चोट

605
views

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता महेश बस्नेत करिब दोब्बर मतले विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई १७ हजार सात सय २५ मतान्तरले हराएका हुन् । बस्नेतले ३६ हजार चार सय १२ मत ल्याउँदा उनका प्रतिस्पर्धी पूर्वसभामुख ढुंगानाले १८ हजार ६ सय ८७ मतमै चित्त बुझाउनुपरेको थियो ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेका उनले यसपटकको निर्वाचनमा भने बाजी मार्न सफल भएका छन् ।
पहिलो भएको कांग्रेस दोस्रो स्थानमा धकेलिँदा दोस्रो भएको नेपाल मजदुर किसान पार्टी तेस्रो स्थानमा झरेको छ । नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले पाँच हजार चार सय ७१ मतमै चित्त बुझाउनुपरेको छ। त्यस्तै विवेकशील साझा पाटीका शशिविक्रम कार्की एक हजार सात सय ८४ मत ल्याएर चौथो भए ।
कूल ८३ हजार नौसय ३५ मतदाता रहेको यस क्षेत्रमा ७६.७५ प्रतिशत अर्थात ६४ हजार चार सय १८ मत खसेको थियो । जसमध्ये एक हजार तीन सय ४४ मत बदर भएको थियो ।
क्षेत्र नं २ प्रदेश ख मा श्रेष्ठ विजयी
त्यस्तै भक्तपुर क्षेत्र नं २ को प्रदेश ख मा पनि वाम गठबन्धनको लागि एमालेका राजेन्द्रमान श्रेष्ठले बाजी मारेका छन् । उनले १४ हजार दुई सय २९ मत ल्याएका छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेशमान चक्रधरले ११ हजार पाँच सय ३८ मतमै चित्त बुझाए। त्यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेमजन थापा श्रेष्ठले दुई हजार तीन सय ५५ मत ल्याएर तेस्रो स्थानमा रहे । विवेकशील साझाका रामभक्त बाडेले एक हजार ८८ मत ल्याउँदा संघीय समाजवादी फोरमका कृष्णबहादुर घजूले चार सय ६ र राप्रपाका रमेश राजवाहकले दुई सय पचास मत पाए ।
कूल ३९ हजार आठ सय ४६ मतदाता रहेको यस प्रदेशमा ७६.८१ प्रतिशत अर्थात ३० हजार ६ सय चार मत खसेको थियो । यस क्षेत्रको प्रदेश क भने यसअघि नै वाम गठबन्धनकै लागि नेकपा एमालेका शशिजंग थापा विजयी भइसकेका छन् ।
यस क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा तीन क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ । गठबन्धनले आइतबार बिहान ११ बजे मत गणनास्थल मध्यपुर थिमि नगरपालिकास्थित कृषि तालिम केन्द्रबाट विजर्यी याली निकाल्ने जानकारी दिएको छ ।