बंगलादेश–भारत–नेपाल सीधा बससेवा सुरु

847
views

काठमाडौँ, १३, बैशाख । बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् ।

ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन् । नेपालमा प्रवेशपछि बसमा सवार तीन देशका अधिकारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको थियो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यलगायतले उनीहरूलाई स्वागत गरेका हुन् । बसमा बंगलादेशका ३९, भारतका ११ र नेपालका सात गरी ५७ अधिकारी छन् ।

बंगलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन) यातायात सम्झौताअनुरूप त्रिदेशीय अन्तराष्ट्रिय बस सेवाको परीक्षण सवारी सुरु गरिएको हो । सम्झौता भएको ३ वर्षपछि रुट परीक्षण सुरु गरिएको छ । ढाकाबाट छुटेका श्यामोली परिवहनका ती बस बिहीबार काठमाडौं पुग्नेछन् ।

भुटानले अझै यो सम्झौतामा हस्ताक्षर गरेको छैन । बिबिआइएन सम्झौतालगत्तै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेका रूपमा विकास गर्ने भन्दै स्तरोन्नति गरिरहेको छ ।

‘यो त ट्रायल रन मात्र हो, यसको प्रतिवेदनका आधारमा रुट कायम हुन्छ,’ नेपालका तर्फबाट टोलीमा सहभागी परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनालले भनिन्, ‘भुटानको संसद्बाट अनुमोदन भएपछि मात्र सञ्चालनमा आउनेछ ।

सवारीसाधन सञ्चालन गर्न भारत, भुटान, बंगलादेश र नेपाल सरकारले संयुक्त रूपमा पहल गरेको टोलीमा सहभागी नेपाली प्रतिनिधि गोविन्द खरेलले बताए । ‘तीनवटा मुलुकले सहमतिमा हस्ताक्षर गरिसकेपछि तीनवटै देशको संसद्बाट अनुमोदन पनि भइसकेको छ ।