इरानले ’गोप्य परमाणु कार्यक्रम’ चलाएको आरोप

571
views

इजरेलका प्रधानमन्त्रीले ’पावर पोइन्ट’ मा इरानका गोप्य दस्तावेजहरूका बारेमा प्रस्तुती दिएका थिए । तेहेरानले आफ्नो परामाणु महत्त्वाकांक्षाबारे विश्वलाई ढाँटेको भन्ने प्रमाणित गर्ने हजारौँ पाना भएका दस्तावेजहरू आफूसँग रहेको भन्ने इजरेलको दाबीलाई इरानले अस्वीकार गरिदिएको छ ।

इरानी विदेशमन्त्री जभाद जारिफले अन्तर्रा्ष्ट्रिय परमाणू उर्जा निकायले सम्बोधन गरिसकेका पुराना आरोपहरूलाई पुनस् मिलाएर प्रस्तुत गरिएको टिप्पणी गरेका छन् ।

उनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानसँग अन्तराष्ट्रिय परमाणु सम्झौता तोड्ने अमेरिकी राष्ट्रपतिको चाहनालाई पूरा गर्न मद्दत गर्न पछिल्लो दाबी प्रस्तुत गरेको आरोप लगाए ।

नेतन्याहुले ती दस्तावेजहरूले सन् २०१५ को सम्झौतापछि इरानले आफ्नो परमाणु ज्ञान अभिवृद्धि गर्ने कामलाई निरन्तरता दिइरहेको प्रमाणित गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भनेको छ इजरेलले सार्वजनिक गरेका विवरण केही समय पहिले नै आफ्नो जानकारीमा आएका विवरणसँग मेल खाएको छ र इरानले गोप्य रुपमा आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

तर राष्ट्रपति ट्रम्पले आगामी दुई हप्तापछि निर्णय गर्दा उक्त सम्झौता तोड्ने या नतोड्ने केही खुलाएका छैनन् । लामो समयदेखि ट्रम्पले उक्त सम्झौता इरानको पक्षमा भएकाले त्यसलाई खारेज वा संशोधन गर्नुपर्नेमा जोड दिदैँ आएका छन् । तर उक्त सम्झौताका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र रूसले ट्रम्पलाई उक्त सहमतिबाट अलग नहुन भनिरहेका छन् । बीबीसी