भारतीय अभियुक्त छुटाउन जनप्रतिनिधि समुहद्वारा प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते

1339
views

पर्सा, २४, बैशाख । पर्सामा आज बिहान गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा गएको समूह र प्रहरीबीच झडप हुँदा प्रहरी नायब निरीक्षकसहित पाँच प्रहरी घाइते भएका छन् । जिल्लाको जिरा भवानीपुर गाउँपलिका–१, चिनीमिलचोकमा स्थानीय र प्रहरीबीचको झडपमा सुरक्षाकर्मी घाईते भएका हुन् । झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको छ ।

फाईल तस्विर


रक्सी खाएर एउटै मोटरसाईकलमा चढेका चार भारतीय नागरिक र मोबाइल चोरीमा संलग्न दुई जनालाई छुटाउन स्थानीय बासिन्दाको समूह लिएर जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी सोमबार बिहान इलाका प्रहरी कार्यालय सेढवा पुगेकी थिइन् । त्यस क्रममा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो ।

झडपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी जवान यादवको अवस्था गम्भीर रहेको बताइएको छ ।

भारतको बेतिया जिल्ला भंगहा थानाअन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रवेश गौरो, विष्णुभर गौरो, दिनदयाल महतोलाई चेकजाँचका क्रममा मापसे गरेको र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चारजना चढेको फेला पारेपछि आइतबार राति नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सेढवामा राखिएको थियो । साथै प्रहरीले मोबाइल चोरीमा संलग्न आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

स्थानीयले इलाका प्रहरी कार्यालयको प्रतिक्षालय तोडफोड गर्दै प्रहरीको मोटरसाइकलमा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २७ राउण्ड हवाइफायर गरेको थियो ।

साथै प्रहरीले २३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको बताइएको छ । आक्रोशित स्थानीय बासिन्दाले प्रहरीको बा २ ब ५७०५ नम्बरको मोटरसाइकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाइकल जलाइदिएका छन् ।