मुलुकले ठूलो मुल्य चुकाउनुपर्ने भयो ः गगन थापा

690
views

काठमाण्डाै, १९, बैशाख । नेपाली कांग्रेसका नेता एवम् स्वास्थ्यमन्त्री गगन थापाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोगको औचित्य नेपाली कांग्रेसले पुष्टि गर्नसक्नुपर्ने बताएका छन् । थापाले प्रधानन्यायाधीश कार्कीवरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै अब पार्टीले त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्ने र यदि त्यसो हुन नसके पार्टीले मात्रै नभई लोकतन्त्र र सिंगो मुलुकले ठूलो मुल्य चुकाउनु पर्ने बताएका हुन् ।
महाभियोगको प्रस्ताव दर्ता बारे अचम्मित हुँदै थापाले भने मिडियामा सुन्दा अचम्म लाग्यो, मिडियामा सुुनेदेखेपछि मात्र पार्टी सभापति लगायतका नेताहरुसँग पार्टी कार्यालयमा त्यसबारे सोधेको थिएँ ।
“नेताहरुले प्रस्तावमा उठाइएका भन्दा पनि थुप्रै गम्भीर विषय छन् भन्नु भएको छ,” थापाले भनेका छन्, “हामीले नेताहरुलाई भनेका छौं, यदि त्यसो हो भने तत्काल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइनुपर्छ, संसदीय दलको बैठक राखिनुपर्छ र सामान्य छलफल नगरिकन यहि समयमा किन महाभियोग लगाइयो भन्ने प्रष्ट पारिनुपर्छ ।”
उनले संविधानमा भएको महाभियोगको प्रवन्ध क्षणिक उत्तेजना, आवेगमा प्रयोग गरियो भन्ने स्थापित भयो भने ठूलो मूल्य चुकाउनु पर्ने भन्दै थपे, “पार्टीले कति मूल्य चुकाउनु पर्ला, कुन नेताले कति मूल्य चुकाउनु पर्ला भन्ने ठूलो कुरा होइन । नेपालले कति मूल्य चुकाउनु पर्छ, लोकतन्त्रले कति मूल्य चुकाउनु पर्छ भन्ने ठूलो कुरा हो ।”
कांग्रेसकै नेताहरुबारे अदालतले गरेका फैसाल विरुद्ध पार्टीले निर्णय गर्दा न्यायालयको मानमर्दन गर्नु हुँदैन भन्ने आफू लगायतको आवाज सानो भएको, भर्खरै आइजीपी नियुक्ति प्रकरणमा पनि नेपाली कांग्रेसले सर्वोच्च अदालतको आदेशविरुद्ध निर्णय गर्दा त्यसविरुद्ध बोल्ने आफू ‘फगत एक्लो भएको’ उनको भनाई थियो ।