बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार

802
views

काठमाडौ । प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरिएको छ । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एकमहिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको हो ।

नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित भई करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको उच्च एवं गरिमामय ओहदाबाट प्रधानसेनापति महारथी यहि भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्नुभएको छ ।

सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथी क्षत्री आज श्रावण २५ गतेदेखि बिदामा बस्नु हुने भएकोले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गर्नु भएको हो ।

बलाधिकृत रथी थापालाई ०७५ श्रावण १० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम यहि श्रावण २५ गतेबाट लागु हुने गरी प्रधानसेनापतिमा कायम मुकायम मुकरर गरिएको थियो ।