बजारमा सुनको अभाव, व्यापार प्रभावित

1579
views

भरतपुर, १७, भदौ । सुन व्यवसायिले बजारमा सुनको अभाव भएको गुनाासो गरेका छन् । व्यवसायिले माग अनुसार सुन उपलब्ध हुन नसकेको बताए ।

पर्याप्त सुन उपलब्ध नहुँदा गहना र शृङ्गारले सजिने पर्व तीज नजिकिँदै गर्दा व्यापार प्रभावित भएको व्यवसायीहरुको गुनासो छ ।

सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योति सदाशङ्करले सरकारले सुन दिन नसकेका कारण व्यवसायमा असर परेको बताए । व्यवसायीहरूले सरकारसँग पटक–पटक सुन माग्दा पनि त्यसको सुनुवाइ नभएको उनको गुनासो छ ।

उसो त चितवनकै व्यवसायीहरूले अघिल्लो हप्ताको मङ्गलबारबाट चार दिनसम्म सुन पसल नै बन्द गरेर आन्दोलनसमेत गरेका थिए ।

सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले सरकारले यस विषयमा सुनुवाई नै नगरेको बताए । व्यवसायीले सुन दिने नेपाल राष्ट्र बैङ्क र मातहतको मन्त्रालय वाणिज्य मन्त्रालयसँग आफूहरूका समस्याका बारेमा समाधान गर्न पहल गरिदिन आग्रह गरेका थिए ।

नेपालमा अहिले वार्षिक ५० हजार किलो सुनको खपत देखिन्छ तर अहिले नेपाली बजारमा वार्षिक सात हजार किलो पनि सुन आपूर्ति भएको छैन ।

२०६६ सालमा नेपाल राष्ट्र बैङ्कमा डलरको सञ्चिति करिब २.६३ अर्ब थियो । सो सञ्चित रकमले नेपाललाई छ महिनाका लागि सुन खरिद गर्न मात्रै पुग्थ्यो । यसलाई अन्तराष्ट्रिय मान्यता अनुसार सङ्कटकालीन अवस्था मानिन्थ्यो ।

नेपाल राष्ट्र बैङ्कले क वर्गका वाणिज्य बैङ्कहरूलाई मात्रै अहिले दैनिक २० किलो सुन आयतको अनुमति दिएको छ । जबकि अहिले दैनिक ५० किलोभन्दा बढी सुन खपत हुने बजारको माग छ ।