गाडी र चालकको अवस्थाबारे नियमित जाँच गरे दुर्घटना कम हुने

833
views

चितवन, भदौ– २४ ट्राफिक कार्यालय चितवनले चालक र गाडी दुवैको अवस्था ठीक भए/नभएको बारे शनिबार नारायणगढ–मुग्लिन सडकखण्डको रामनगरमा गाडी र मानिसको अवस्था जाँच गरेको छ ।

सुरक्षित यात्राका लागि चालक जति स्वस्थ हुनुपर्छ, उसले चलाउने गाडी पनि त्यत्तिकै दुरूस्त हुनुपर्छ । चालकको लापर्बाहीमात्रै होइन, गाडीमा हुने यान्त्रिक खराबीका कारण पनि दैनिक दुर्घटना हुने गरेका कारण पत्ता लागेपछि ट्राफिक प्रहरीले गाडीको अवस्था र मानिसको स्वास्थ्य जाँच गरेको हो ।
गाडीमा ब्रेकको अवस्था, टायरको अवस्था, हेड लाइट र साइड लाइटको अवस्था, सिट आदिको परीक्षण भएको थियो । गाडी जाँचमा खटिएका एक दर्जनजति प्राविधिकहरुले गाडीको जाँचपछि गाडीको अवस्थाका बारेमा चालकलाई लेखेर जानकारी दिएका थिए ।
ट्रक चालक रमेश थापा आँखामा आँसु आइरहने समस्याबाट पीडित थिए । साथमा उनले कहिल्यै रूमाल टुटाएनन् । आँसु पुछ्दै उनी ट्रक चलाइरहेका थिए । तर आँखा परीक्षणको क्रममा थाहा भयो, उनमा समस्या रहेछ ।
उनले भने, ‘आँखामा नियमित आँसु आइरहन्थ्यो, परीक्षण गर्न फुर्सद पनि भएन, आज अचानक परीक्षणपछि समस्या थाहा भयो ।’ औषधि प्रयोगले समस्या समाधान हुने भनेपछि उनले भने, ‘अहिल्यै नारायणगढ गएर औषधि किन्छु र नियमित प्रयोग गर्छु ।’
दुर्घटनामा चालक र गाडीको अवस्था नै मुख्य जिम्मेवार हुने गरेको प्रदेश नम्बर ३ का ट्राफिक प्रमुख एसपी नवीनकुमार राईले बताए ।
‘दुर्घटना हुँदा चालक र गाडी दुवैको कमजोरी हुने तथ्यांक हामीसँग छ’, चितवन जिल्ला ट्राफिक प्रमुख प्रनि वेदप्रसाद गौतमले भने,
‘आजसम्म हामीले दोषमात्र दियौँ, तर समस्या समाधानका लागि प्रयास गरेनौँ ।’ गाडी र चालकको अवस्थाबारे नियमित जाँच गर्ने हो भने दुर्घटना कम हुने प्रनि गौतमले बताए । उनले गाडी र चालकको स्वास्थ्य परीक्षण कार्यक्रमले निरन्तरता पाउने बताए ।
चितवन मेडिकल कलेजका निर्देशक चिकित्सक डा. दयाराम लम्सालले हरेक नागरिकले समय–समयमा स्वास्थ्य जाँच गराउनुपर्ने अहिलेको अवस्थामा यात्रुको जीवन बोकेर हिँड्नेहरुले झनै २–३ महिनाको फरकमा अनिवार्य जाँच गराइरहनुपर्ने बताए ।
कार्यक्रममा १ सय ३२ गाडीको यान्त्रिक परीक्षण र ती गाडीका चालकको स्वास्थ्य परीक्षण गरिएको छ । आँखा परीक्षण गर्दा १५ जना चालकको आँखा कमजोर भेटिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शनिबार नारायणगढ–मुग्लिन सडकको रामनगरमा चितवन अटो मेकानिकल व्यवसायी संघ र चितवन मेडिकल कलेजसँगको सहकार्यमा गाडीको यान्त्रिक परीक्षण र चालकको स्वास्थ्य परीक्षण गरेको हो ।
चितवन अटो मेकानिकल व्यवसायी संघको २२औँ दिवसको अवसरमा भएको कार्यक्रममा चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष राम लोहनी सभापति रहेका थिए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अत्याधुनिक अटोल्यान्ड निर्माण गर्ने बताइन् ।
सवारीसाधनको यान्त्रिक परीक्षण तथा चालकको मानव स्वास्थ्य परीक्षण कार्यक्रममा प्रमुख अतिथि महानगर प्रमुख रेनु दाहालले अन्य ठाउँमा सञ्चालनमा रहेका अटोल्यान्डको पनि अवलोकन भइसकेको बताइन् ।
उनले भरतपुर महानगरपालिकाले अटो व्यवसायलाई व्यवस्थित ढंगले सञ्चालन गर्न चाहेको भन्दै अत्याधुनिक अटोल्यान्ड निर्माणको काम छिट्टै थालनी हुने बताइन् ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले अटो व्यवसायलाई व्यवस्थित गर्न जरूरी रहेको बताए । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले व्यवस्थित अटोल्यान्ड निर्माणका लागि भरतपुर महानगरले देखाएको चासो प्रशंसनीय रहेको र यसलाई छिट्टै व्यवहारमा ल्याउन आग्रह गरे ।