वीरेठाँटीदेखी मुक्तिनाथसम्म केवलकार निर्माण

754
views

सबिता शर्मा
पोखरा, १९ असोज । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि केवुलकार निर्माण हुने भएको छ । ६ बर्षभित्र निर्माण कार्य सम्पन्न हुने गरी वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवुलकार निर्माण गर्न लागिएको मुक्तिनाथ दर्शन सेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले बताए ।

वीरेठाँटीदेखि मुक्तिनाथसम्म करिब ७५ किलोमिटर दूरीको केबलकार निर्माण गर्नको लागि प्रक्रिया सुरु गरिएको पनि उनले जानकारी दिए । केवलकार निर्माणका लागि विस्तृत अध्ययन गर्ने अनुमति प्रदान गरेसँगै प्रक्रिया अघि बढेको सापकोले बताए ।

आगामी २०८१ भित्र सेवा दिने लक्ष्यका साथ परियोजना सम्बन्धी इन्सेन्सन रिपोर्ट तयार गरी एलाइमेन्ट फिक्स गर्ने काम भईरहेको छ । केबलकार निर्माणका लागि कास्की वीरेठाँटीदेखि घोरेपानीसम्म पहिलो, घोरेपानीदेखि तातोपानीसम्म दोस्रो, तातोपानीदेखि लेतेसम्म तेस्रो, लेतेदेखि मार्फासम्म चौथो, मार्फादेखि जोमसोमसम्म पाँचौँ, जोमसोमदेखि कागबेनीसम्म छैटौँ र कागबेनीदेखि मुक्तिनाथसम्म सातौँ खण्डमा विभाजन गरिएको कम्पनीका रोपवे इन्जिनियर गुणराज ढकालले बताए ।

केबलकार निर्माणका लागि करिब ३८ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । लगानी जुटाउन अन्तराष्ट्रिय बैंकहरूसँग कुराकानी भइरहेको कम्पनीले जनाएको छ । निर्माण सम्पन्न भएपछि एक दिशामा एक पटकमा १ हजार यात्रु बोक्ने क्षमता रहने केवलकारमा ३ घण्टा १० मिनेटमा वीरेठाँटीबाट मुक्तिनाथ पुग्न सकिने बताइएको छ ।