भरतपुर महानगरपालिका सिटी हल बनाउने जग्गाको खोजीमा

1217
views

प्रकाश सापकोटा
नवलपुर असोज–२१ भरतपुर महानगरपालिकामा सिटी हल निर्माणको लागि उपयुक्त मानिएका जग्गामा विवाद बढ्दै गएपछि भरतपुर महानगरपालिका सिटी हल निर्माण गर्ने स्थानको खोजीमा रहेको हो ।

भरतपुर महानगरमहानगरपालिका लाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजनाअनुसार सिटी हल निर्माण गर्ने जग्गाको टुंगो नलागेकै कारण अझै पनि महानगरपालिका खोजीमा लागिपरेको छ ।
भरतपुर महानगरले गएको नगरसभाबाट भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटी हल निर्माण गर्ने निर्णय गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को विरोधपछि महानगरले जिल्लाका ठूला दलहरुसँग छलफल गरेर भरतपुर महानगरपालिकाको वडा नं १० स्थित जिल्ला प्रहरी कार्यालयअगाडि रहेको गेष्ट हाउस चौरमा सिटी हल निर्माण गर्ने निर्णय ग¥यो ।
गेष्ट हाउस चौरमा सिटी हल निर्माण गर्ने विषयमा जनस्तरबाटै चर्को विरोध भएपछि अहिले महानगर थप समस्यामा परेको छ । गेष्ट हाउस चौरमा सिटी हल बनाउने विषयमा साना दलहरुले समेत विरोध गरिरहेका छन् ।
‘हामीले क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउने निर्णय गर्दा नेपाली कांग्रेसका साथीहरुले विरोध गर्नुभयो’, महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘त्यसपछि गेष्ट हाउस चौरमा बनाउने सर्वपक्षीय निर्णय हुँदा त्यहाँ झन् जनस्तरबाटै चर्को विरोध भयो । त्यसैले, हामी त्यसको विकल्पको खोजीमा छौँ ।’
पश्चिम चितवनमा प्रशस्तै जग्गा भए पनि दूरीको हिसाबले टाढा पर्ने हुँदा सबैलाई पायक पर्ने ठाउँको खोजीमा रहेको उनले बताइन् ।
‘हामीसँग जग्गा नै नभएको त होइन’, उनले भनिन्, ‘तर, सकभर सबैलाई पायक पर्ने ठाउँमा बनाऔँ भन्नेमात्रै हो ।’
महानगरको योजनाअनुसारको सिटी हल निर्माणका लागि न्यूनतम पाँच बिगाह जग्गाको आवश्यकता पर्ने उनको भनाइ छ । ‘सिटी हल निर्माणको आवश्यकताचाहिँ १० बिगाहको हो’, उनले भनिन्, ‘तर, न्यूनतम पाँच बिगाह क्षेत्रफलसम्ममा बनाउन सकिन्छ ।’ खासगरी, महानगरले गेष्ट हाउस चौर त्यति उचित नहुने भने पनि दलहरुको सहमतिअनुसार निर्णय गर्दा जनस्तरबाटै विरोध भएको उनको भनाइ छ ।
अहिले उपयुक्त स्थानकै खोजीमा रहेको भन्दै उनले भनिन्, ‘अन्तिम विकल्प त क्यान्सर अस्पतालको जग्गा नै हो, किनभने पश्चिम चितवनमा प्रशस्तै जग्गा भए पनि सबैलाई पायक पर्ने ठाउँ भनेको भरतपुरआसपासकै जग्गा हो, त्यसका लागि क्यान्सर अस्पतालको जग्गाबाहेक अरु विकल्प नहुन सक्छ ।’
गेष्ट हाउस चौर मुख्य बस्तीको बीच भागमा पर्ने हुँदा आपतविपत् पर्दा सुरक्षित स्थानका रुपमा प्रयोग गर्न सकिने ठाउँका रुपमा छाडिनुपर्ने उनले बताइन् । ‘त्यसैले, हाम्रो योजना त क्यान्सर अस्पतालकै जग्गामा बनाउने हो’, उनले दोहो¥याइन् ।
विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, वैद्य माओवादीलगायतका साना दलहरुले पनि क्यान्सर अस्पतालकै जग्गामा उपयुक्त हुने बताएका छन् ।
यसैबीच, शनिबार भरतपुर–१३को धनौजीमा भएको नागरिक समाजको भेलामा भरतपुर महानगरले निर्माण गर्ने भनेको सिटी हल भरतपुरको केन्द्र भागमा नै उपयुक्त हुने निचोड निकालेको छ । भरतपुर महानगरले सो हल भरतपुरमै बनाउने भनिरहँदा महानगरको केन्द्र भाग पश्चिम क्षेत्रमा बन्नु पर्ने आवाज पनि उठेको छ ।
नागरिक समाज पश्चिम चितवनले आयोजना गरेको छलफल कार्यक्रममा त्यस क्षेत्रका जनप्रतिनिधिलगायत सरोकारवालाले गेस्ट हाउस चौर साँस्कृतिक एवम् राजनैतिक इतिहास बोकेकाले खुल्ला क्षेत्र रूपमा संरक्षण गर्नु पर्ने सुझाव दिएका थिए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले खुल्ला क्षेत्र जोगाएर महानगरको केन्द्रमा सिटी हल निर्माण हुनुपर्ने सुझाव दिए । साविक पटिहानीका नेकपाका नेता रामजीप्रसाद सापकोटाले भरतपुरको केन्द्र भागमा नै उत्तम भएको धारणा राखे । उनले दुई चार जनाले उचालेको भरमा अपरिपक्क निर्णय नगर्न महानगरलाई सचेत गराएका थिए ।
कार्यक्रममा वातावरण पत्रकारिता गरेका भुपेन्द्र बस्नेत, बाबुराम दाहाललगायतले गेस्ट हाउनको निर्णय सच्यायर महानगरकै मध्यभागमा सार्न सकिने बताएका थिए । साविक पटिहानी गाविसका पूर्व अध्यक्ष मधुसूदन सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा चेतनाथ न्यौपाने, रमेश कोइराला, हरि आचार्य, कल्पना सापकोटालगायतले बोलेका थिए ।