बन्‍ने भयो हेलिप्याडसहित अत्याधुनिक राष्ट्रपति भवन

800
views

काठमाडौं, २४ असोज । हेलिप्याडसहितको नयाँ र आधुनिक राष्ट्रपति भवन निर्माण हुने भएको छ। हालको राष्ट्रपति भवन र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको जग्गामा अन्तर्राष्ट्रिय मापदण्डको नयाँ र अत्याधुनिक भवन निर्माण हुने भएको हो। भवन २२३ रोपनी क्षेत्रफलमा बन्नेछ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी नयाँ र अत्याधुनिक राष्ट्रपति भवन निर्माणको तयारी गरिएको जानकारी दिए। लामो समय अलमलमा रहेको राष्ट्रपति भवन निर्माण निष्कर्षमा पुगेको उनले बताए। निर्माणका लागि परामर्शदाता चयन गरी डिजाइन तथा लागत इस्टिमेटको काम भइरहेको उनले बताए।

२०७३ मंसिर १९ गते परामर्शदाता छानिएको बीडीए÷प्लस इन्जिनियरिङ एन्ड आर्किटेक्ट प्रालिलाई नयाँ र अत्याधुनिक भवन निर्माणको डिजाइन तथा लागत इस्टिमेटको जिम्मा लगाइएको छ। उसले डिजाइन र लागत इस्टिमेटको अध्ययन गरिरहेको छ। कार्यकारी अधिकृत ज्ञवालीले अहिले राष्ट्रपति भवनको पूर्वाधार र संरचना राष्ट्राध्यक्षका लागि पर्याप्त नभएकाले नयाँ भवन निर्माणको विकल्प नरहेको बताए।

‘मन्त्रिपरिषदले निर्णय गरेर काम थाल्न निर्देशन दिइसक्यो, पुरानै परामर्शदातालाई भवन निर्माणको जिम्मा पनि दिइसकिएको छ’, उनले भने। राष्ट्रपति कार्यालयको २ सय ७ रोपनी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनी जग्गामा राष्ट्रपति कार्यालयका लागि आवश्यक पूर्वाधार र संरचनासहितको भवन निर्माण हुनेछ। उनका अनुसार भवनमा विदेशीका लागि अन्तर्राष्ट्रिय स्तरको अतिथिगृह, आवास, खुला क्षेत्र, हेलिप्याडलगायत संरचना हुनेछन्।

राष्ट्रपति कार्यालयमा हेलिप्याड भए राष्ट्रपतिको सवारी हँुदा गरिने सडक बन्दको समस्या समाधान हुनेछ। भित्रै अतिथिगृह हुँदा विदेशी पाहुनालाई होटलमा राख्नु पर्दैन। खुला क्षेत्र भए राष्ट्रपतिलाई हिँडडुल गर्न सहज हुन्छ। अहिले प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण गराउन, राजदूतसँग ओहोदाको प्रमाणपत्र बुझ्नसमेत ठाउँ साँघुरो छ। भवन निर्माणबारे राष्ट्रपति विद्यादेवी भण्डारी र प्राधिकरणका सीईओ ज्ञवालीबीच परामर्श भइसकेको छ।

शीतलनिवासको रेट्रोफिटिङ

राष्ट्रपतिको कार्यालय र निवासका लागि नयाँ भवन बन्ने भएपछि शीतलनिवासको संरक्षण गर्न रेट्रोफिटिङ गरिने भएको छ। भवनको मौलिक स्वरूप संरक्षण गर्न शीतलनिवास नभत्काइने प्राधिकरण सीईओ ज्ञवालीले बताए। शीतलनिवासको अन्ततः जीर्णोद्धार गर्ने उनको भनाइ छ। रेट्रोफिटिङ गरे मात्र संरक्षण हुने प्राविधिक रिपोर्ट आएपछि नभत्काउने निर्णय भएको उनले बताए।

२०७४ जेठ २८ मा शीतलनिवास भत्काउन डिजिकन इन्जिनियर्स कन्सल्टेन्टलाई ठेक्का दिइएको थियो। यसको चौतर्फी विरोध भएपछि रेट्रोफिटिङ गरिने भएको हो। अन्नपूर्ण पोष्टबाट