आज बडादशैँको सुरु दिन घटस्थापना

945
views

काठमाडौँ, २४, असोज । आज बडादशैँको सुरु दिन । सर्वसाधारणले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भूइँलाई गाइको गोवरले लिपेर चोखो पारी चोखो वालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी भिँगुट, टपरी, माटो वा तामाको भाँडामा गोवर टाँसेर जौ र गहुँ मिसाएर जमरा राखिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार विहान ७ः१५ बजे घटस्थापनाको शुभ साइत छ । कसैकसैले भने घटस्थापनाको भोलिपल्ट चन्द्रमाको दर्शन गरेर मात्र घटस्थापना गर्ने चलन पनि रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउँछन् । घटस्थापना गरिएको स्थानमा आह्वान गरिएको देवी कात्तिक २ गते ९ः३९ बजे विसर्जन गरेर यही दिन विहान ९ः५१ बजे टीका लगाउँदा शुभ रहेको सदस्यसचिव ढुङ्गेलले बताए ।

घटस्थापनादेखि विभिन्न शक्तिपीठमा महानवमीसम्म नवरात्र मेला आयोजना गरी देवी भगवतीको स्तुति गरिँदै छ । नवलपरासीको पाल्टी भगवती, ताप्लेजुङ्को पाथीभरा, वाग्लुङ्को नृसिंह भगवती, पाँचथर यासोक बजारको देवीस्थान, नुवाकोटको जालपादेवी, हेटौँडाको भुटनदेवी, गोरखा मनकामना, पाटनको पूर्णचण्डी, नालाको उग्रचण्डी र काठमाडौँको गुह्येश्वरी, मैतिदेवी, कालिकास्थान, नरदेवी, रक्तकाली, भद्रकाली र नक्साल भगवती तथा पशुपति क्षेत्रको वनकाली, राजराजेश्वरी, झङ्केश्वरी, बज्रेश्वरी, बच्छलेश्वरी, जयवागेश्वरी लगायतका पीठमा नवरात्रमेला लाग्छ ।

यसैवीच हनुमानढोका दरवारमा रहेको दशैँघरमा पनि घटस्थापना गरिँदैछ । पाटन दरवार र भक्तपुर दरवारको तलेजुमा पनि घटस्थापना गरिँदै छ । फौजी निकायका कोतघरमा पनि प्रचलन अनुसार घटस्थापना गरेर फूलपातीका दिन फूलपाती भित्र्याइ महाअष्टमी र महानवमीमा बोका राँगा वली दिएर बडादशैँ मनाइन्छ । समरजङ् कम्पनीले पनि देवीको निसान समक्ष घटस्थापना गरेर बडादशैँ मनाउँँदै छ ।