नेपालको लगातार पाँचौ जित चीन १० विकेटले पराजित

601
views

काठमाडौं । विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा नेपालले लगातार पाँचौ जित हात पारेको छ ।मलेसियामा जारी प्रतियोगितामा शत प्रतिशत विजयी यात्रा बनाएको नेपालले आज कमजोर प्रतिद्वन्द्वी चीनलाई १० विकेटले हराएको हो ।

क्वालालम्पुरमा भएको खेलमा चीनले दिएको २७ रनको सामान्य चुनौती नेपालले जम्मा ११ बल खेल्दै विना कुनै विकेटको नोक्सानीमा पूरा र्गयो ।

नेपालको लागि बिनोद भण्डारीले ८ बलमा अविजित २४ रनको योगदान दिए । उनले ३ चौका र एक छक्का प्रहार गरेका थिए । यसअघि खेलमा टस हारेर पहिले व्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुनुपूर्व २६ रन मात्रै बनाउन सक्यो ।

चिनियाँ ईनिङ ध्वस्त पार्न नेपालका सन्दिप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले ३–३ विकेट लिए । एक जना खेलाडी रनआउट भएका थिए । कमजोर प्रतिद्वन्द्वी चीनविरुद्ध नेपालले ९ रन अतिरिक्त दिएको थियो ।

जारी प्रतियोगितामा चीन सबैभन्दा कमजोर देखिएको छ । उसले खेलेका सबै ५ खेल हारेको छ । सबै ५ खेल जितेको नेपालले भने समूहको अन्तिम खेलमा शुक्रवार सिंगापुरको सामना गर्नेछ ।