पर्वत कलाकार समाजको औपारिक रुपमा शुभारम्भ

1074
views

काठमाडौं, २५, असोज । पर्वतका कलकारको संस्थाका रुपमा पर्वत कलाकार समाज नेपाल औपचारिक रुपमा शुभारम्भ भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कलाकार तथा सर्जक कस्तुप पन्त नेतृत्वको कलाकार समाजको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भसँगै नजिकिँदै गरेको बडा दशैंलगायत नेपालीहरुको चाड पर्वको शुभकामना दिँदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पर्वत कलाकार समाज समग्र जिल्लाको साझा संस्था बन्नुपर्ने बताउनुभयो । उहाँले कुनै पार्टीगत पूर्वाग्रहभन्दा माथि उठेर जिल्लाको उत्तर जलजलादेखि दक्षिणको बिहादीसम्मका प्रतिभालाई बजारमा ल्याउन समाजले भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले पर्वतमा जन्मेर देश विदेशमा रहेका सबै मिलेर जिल्लाको विकास र सँगै राष्ट्रिय स्तरमा सक्दो योगदान गर्न आग्रह गर्नुभयो ।

विशेषगरी काठमाडौंमा रहेर कलाकारिता क्षेत्रमा सक्रिय अधिकांशलाई समेटेर समाजको सुरुवात गरेको अध्यक्ष पन्तले जानकारी दिनुभयो । कार्यक्रममा कलाकारसँगै, राजनीतिक दलका नेता, प्रशासक, प्राध्यापक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।