दसैंलाई लक्षित गरी १७ हजार भेडाच्याङ्ग्रा निकासी

945
views

बेनी, २९ असोज । दसैंलाई लक्षित गरी मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट करिब १७ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । ति भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी भएको हो ।

दसैंलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव भुसालले जानकारी दिए । उनका अनुसार, च्याङ्ग्रा १३ हजार ९८५ वटा र भेडा दुई हजार ७१५ वटा निकासी भएका हुन् ।

म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौंलगायतको ठाउँबाट जोमसोममै पुगेर व्यापारीहरुले भेडाच्याङग्रा खरीद गरेका छन् । खाद्य संस्थानले समेत ९२५ वटा भेडाच्याङग्रा खरीद गरी लगेको पशु चिकित्सक भुसालले बताए ।

मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याइएका भेडाच्याङग्रा निकासीबाट करिब ३५ करोड भित्रिएको छ । जोमसोममा प्रतिगोटा च्याङ्ग्राको २० देखि २२ हजार र भेडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री भएको थियो ।