पेट भर्ने पिरलोमा बारेकोटवासी

738
views

जरकोट, २९ असोज । जाजरकोटको बारेकोटका बासिन्दालाई दसैंम पेट भर्ने पिरलो परेको छ । जाजरकोट स्थित घाट खाद्य डिपोमै चामल सकिएपछि उनीहरु पिरलोमा परेका हुन् । प्रतिपरिवार १० केजीका दरले वितरण गर्दा पनि चामल सकिएपछि खाद्यसंकट परेको संकट परेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

खाद्य संस्थानले केही दिनअघि बारेकोटमा एक सय २० क्विन्टल चामल पठाएको थियो । समयमा ढुवानी गर्न नसक्दा केही चामल फुलचावलीमै थन्किएको छ । मागअनुसार आपूर्ति नहुँदा अभाव भएको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहको भनाई छ ।

उनका अनुसार हिउँदे र वर्षे बाली नहुँदा बारेकोटमा खाद्यसंकट परेको हो । ‘मिठोमसिनोे खाने त सपना भयो दुईछाक भात खान पनि समस्या पर्ने भयो’, स्थानीय चन्द्र खड्काले भने ।

असिनापानीले गर्दा हिउँदे अन्नबाली उत्पादन नै नभएपछि गउँपालिकामा अन्न संकट परेको स्थानीयको भनाई छ । वैशाखमा परेको असिनापानीले किसानले लगाएको गहुँ र जौ बीउ नै नरहने गरी नष्ट गरिदिएएको थियो ।

चाडबाड आइरहेका बेला गाउँमा अन्न नभएको र डिपोमा समेत चामल सकिएपछि समस्या भएको बारेकोट–३ का मनबहादुर शाहीले बताए ।

गाउँपालिकामा भएका पसलमा समेत चामल छैन । केही पसलमा भएको चामल पनि खाद्य संस्थानको मूल्यभन्दा दोब्बर पर्छ जुन किनेर खान सक्ने स्थानीयसँग पैसा छैन ।

साविकका सक्ला, नायकवाडा, रामीडाँडा र रोकायगाउँ गाविसका करिब २० हजार बासिन्दा खाद्यको चपेटामा पर्दा पनि खाद्यसंकट टार्न बेवास्ता गरिएको बारेकोट–२ का गम्भीर नेपालीले बताए ।

सरकारले डिपोका लागि चालु आर्थिक वर्षमा दुई हजार एक सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । चामल ढुवानीका लागि टेन्डर स्वीकृति गरिसकेको भए पनि ढुवानी हुन सकेको छैन ।

३० केजीको प्रतिबोरा एक हजार दुई सय पर्ने चामल निजी क्षेत्रका व्यापारी दुई हजार पाँच सय रुपैयाँसम्म बिक्री गर्छन् । दोब्बर मूल्य हालेर पनि चामल किन्न नपाइने बारेकोट–२ का मनवीरे नेपालीले बताए ।