काठमाडौंमा विद्युतीय बस सञ्चालन

1106
views

काठमाडौं, ६, कार्तिक । साझा यातायातले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । चिनीया कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा विद्युतीय बससाझा यातयातले नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको हो ।

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा उक्त बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०३० भित्र इन्धनवाला सवारी विस्थापित गरी विद्युतीय सवारीसाधन सञ्चालन गरेर वातावरणमैत्री मुलुक निर्माण गर्ने बताए । उनले इन्धनमा परनिर्भर हुनुपर्ने नेपालजस्तो मुलुकमा विद्युतीय गाडी आवश्यक रहेको बताए ।

साझाले पहिलो चरणमा पाँचवटा बस सञ्चालनमा ल्याउने तयारी थालेको छ । बढ्दो वायुप्रदूषण नियन्त्रण गर्न विश्वले सन् २०३० भित्र इन्धनबाट चल्ने सवारीसाधनलाई विस्तापित गरी विद्युतीय बस प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको छ । चीन र भारतले तोकिएकै समयभित्र विद्युतीय सवारी प्रयोग गर्ने निर्णय गरेसँगै नेपाल सरकारले पनि विद्युतीय सवारी प्रयोग गर्ने घोषणा गरेको थियो ।

एसियाली विकास बैंकको सहयोगमा ल्याइएको बस साझा यातयातको व्यवस्थापनमा सञ्चालन हुनेछ । बस चालकसहित २० सिट क्षमताको छ । बसमा यात्रुलाई उभिएर यात्रा गर्नेका लागि ह्याङगरको सुविधा छ । साथै सुरक्षाका लागि सीसी क्यामरा समेत जडान गरिएका छन् । ९.५ मीटरदेखि १२ मीटरसम्म लामो रहेका यि बस भित्री सहरमा समेत गुड्न सक्ने छन् ।