कर्णाली प्रदेशसँग अन्तराष्ट्रिय नाका हिल्सा जोड्ने चीनको तयारी

663
views

सुर्खेत, २९ कार्तिक । कर्णाली प्रदेशसँग जोडिएको अन्तराष्ट्रिय नाका हिल्सा जोड्ने द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । दक्षिणमा भारतसँग जोडिएको बाँकेको जमुनाह नाकादेखि उत्तरमा चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण गर्न लागिएको द्रूतमार्गको चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

कर्णाली प्रदेश सरकारले ‘प्रधानमन्त्री अन्तर्रा्िष्ट्रय द्रूतमार्ग’ नाम दिएको यो सडक निर्माणका लागि चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययनको काम अगाडी बढाएको हो । यही क्रममा चीनको सरकारी चाइना रेलवे कम्पनीका ईन्जिनियरहरुको टोलीले मंगलबार हेलिकोप्टरबाट द्रूतमार्ग निर्माण हुने स्थलको हवाइ सर्वे गरेको छ । पाँच सय ३० किलोमिटर लामो यो मार्ग निर्माणका लागि चिनियाँ कम्पनीले बुधबारबाट भने सडक निर्माण हुने क्षेत्रको स्थलगत सर्वे समेत सुरु गरेको हो ।

कर्णाली प्रदेशलाई चीन र भारतसँग जोड्ने गरी यो द्रूतमार्ग निर्माण गर्न लागिएको हो । प्रदेश राजधानी सुर्खेतबाट हेलिकोप्टरमा गएको ईन्जिनियरसहितको टोलीले मंगलबार हुम्लाको हिल्सा नाकासम्म पुगेर द्रूतमार्गको हवाइ सर्वे सम्पन्न गरेको छ ।

कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले भने, ‘हेलिकोप्टरबाट हिल्सासम्म सर्वे भएको छ, चिनियाँ कम्पनीले स्थलगत अध्ययन पनि थालेको छ । अब यो टोलीले ६ महिनाभित्रै प्रदेश सरकारलाई पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन दिनेछ, त्यसैको आधारमा हामी द्र्रूतमार्ग निर्माणका लागि डीपीआरको काम अगाडी बढाउने छौँ ।’

हाल कर्णाली प्रदेश दक्षिणमा रहेको भारतको नाकासँग जोडिएको छैन । त्यसकारण पनि प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै हिल्सादेखि जमुनाह जोड्ने द्रूतमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययनको काम सुरु गरेसँगै अब सडक निर्माणको काम पनि अगाडी बढ्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाही बताउँछन् ।

द्रूतमार्गको हवाइ सर्वे भएको र स्थलगत सर्वेको काम पनि अगाडी बढेको भन्दै शाहीले सडक निर्माणका लागि भौगोलिक अवस्थाको जानकारी लिन सर्वे गरिएको बताए । सडक बिना कर्णालीको समृद्धि सम्भव नभएको भन्दै उनले प्रदेश सरकारले सडकलाई पहिलो प्राथमिकतामा राखेको जनाए । यो फाष्ट ट्र्याक निर्माणका लागि संघीय सरकार पनि सकारात्मक रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

सर्वे टोलीसँगै हिल्सा पुगेका कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले द्रूतमार्ग निर्माण भए कर्णालीको काँचुली फेरिने दाबी गरे । कर्णालीलाई अन्तर्रा्िष्ट्रय नाकासम्म जोड्नका लागि पनि यो सडक निर्माणको काम तत्काल सुरु हुनुपर्ने उनको भनाइ छ । जमुनादेखि हिल्सासम्मको फाष्ट ट्र्याक निर्माण गर्न सके मानसरोवरका कारण पनि प्रदेशले लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।अन्नपुर्णबाट

यस्तै चिनियाँ कम्पनीका नेपाल प्रतिनिधि कविन्द्र जैशीले आफूहरुले हवाइ सर्वे गरिसकेको र ईन्जिनियरको टोलीले स्थलगत सर्वे पनि सुरु गरेको बताए । सर्वेको प्रतिवेदन आएपछि मात्र डीपीआरको काम अगाडी बढ्ने उनको भनाइ छ । हाल कर्णाली प्रदेश उत्तरमा चीनसँगको हिल्सा नाकासँग मात्र जोडिएकाले पनि यो द्रूतमार्ग निर्माणमा चीनले चासो दिएको छ ।