बलिउड नायिका सोनाक्षीविरुद्ध उजुरी

522
views

मुम्बई – बलिउड नायिका सोनाक्षी सिन्हा र उनको इभेन्ट कम्पनीमाथि भारतको उत्तर प्रदेशस्थित मुरादाबादका एक व्यक्तिले धम्की र धोका दिएको भन्दै प्रहरीलाई उजुरी गरेका छन्। ति पीडित व्यक्तिले मुरादाबाद प्रहरीलाई दिएको उजुरीमा पैसा लिएपछि कार्यक्रममा नआएको र पैसा माग्दा उल्टै धम्काएको आरोप लगाएका छन्। एसएसपी जे रविन्द्र गौडले सीओ कटघरलाई यो विषयमा जाँच गरेर कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ।

समाचार अनुसार मुरादाबादको कटघर इलाकास्थित शिवपुरी भवनमा बस्दै आएका प्रमोद शर्माले आयोजना गर्न लागेको एक इभेन्टमा सोनाक्षी नगएपछि उनले क्षतिपूर्ति माग्दा धम्की पाएका हुन्। प्रमोदले गत सेप्टेम्बर ३० मा दिल्लीको श्रीफोर्ट अडिटोरियममा आयोजना गरेको ‘इन्डिया फेसन ब्युटी अवार्ड’मा सोनाक्षीलाई विशेष अतिथि बनाउन निम्तो दिएका थिए। जसका लागि उनले ट्यालेन्ट फ्युलन कम्पनीमार्फत सोनाक्षीलाई निमन्त्रणापत्र पठाएका थिए। सोनाक्षीले उक्त कार्यक्रममा जाने इच्छा व्यक्त गरेपछि उनीसँग प्रमोदले सम्झौता पनि गरेका थिए।

प्रमोदले सम्झौता बमोजिम सोनाक्षीको बैंक एकाउन्टमा पैसा जम्मा गरिदिएर हवाई टिकट र पाँचतारे होटलको कोठा पनि बुक गराएका थिए। ‘कार्यक्रमको दिन सोनाक्षीका मेनेजरले दुई पटक हवाई टिकटको समय बदले। कार्यक्रम सुरु हुन केही घण्टा बाँकी रहँदा सोनाक्षीले कार्यक्रममा आउन नसक्ने बताइन्,’प्रमोदले दायर गरेको निवेदनमा लेखिएको छ,‘सोनाक्षी नआएपछि दर्शकले ममाथि आक्रमण गरे र कार्यक्रमका लागि राखिएको ट्रफी पनि खोसेर लगे। कार्यक्रमका लागि गरिएको लाखौं खर्च मेरै गोजीबाट तिर्नुप¥यो।’ प्रमोदले ३७ लाख रुपैंयाँको क्षतिपूर्ति माग गरेको प्रहरीले जनाएको छ।

पैसा लिनकै लागि नयाँदिल्लीबाट मुम्बई कैयौंपटक पुग्दा पनि सोनाक्षीले पैसा दिनुको सट्टा धम्क्याउने गरेको आरोप प्रमोदको छ। एसएसपी गौडले उजुरीका आधारमा दुवै पक्षसँग वार्ता गर्ने र दुईबीच भएको सम्झौताको विषयमा छानविन हुने जनाएका छन् । ऐजेन्सी