लिम्पियाधुरा–कालापानी–लिपुलेक, सुस्ता खोर्इ ?

नक्कली नक्साविरोधी अभियानमा देजमो

730
views

बनेपा, २६ मंसिर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले लिम्पियाधुरा–कालापानी–लिपुलेक, सुस्ता लगायत देशको करिब १० हजार वर्ग किमीभन्दा बढी भू–भाग गायब पारिएको भू–भाग खोजेको छ । सरकारी निकायहरुमा नक्कली नक्सा प्रयोग भएको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काभ्रेले नक्कली नक्सा विरोधी अभियान थालेको हो ।

मोर्चाको काभ्रे जिल्लाले सबै स्थानीय तह, सरकारी कार्यालयहरुमा अनुगमन गरी नेपालको वास्तविक नक्सा प्रयोगका लागि स्मरण पत्रसहित नक्सा समेत हस्तान्तरण गर्ने अभियान थालेको छ ।

मोर्चाले मंसिर २३ गते जिल्लाको भुम्लु गाउँपालिकाको अनुगमन गरी गापा अध्यक्ष गुमनध्वज कुँवरलाई नेपालको वास्तविक नक्सा हस्तान्तरण गरेको छ । मोर्चाका जिल्ला अध्यक्ष टेकबहादुर विकको नेतत्वमा गएको करिब ७० जनाको एक टोलीले गापा अध्यक्ष कुँवरलाई नक्सा हस्तान्तरण गरेको हो । सो अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) काभ्रेका सचिव टंकराम अधिकारीको समेत उपस्थिति रहेको थियो । पार्टी सचिव र मोर्चा अध्यक्षले संयुक्त रुपमा नक्सा हस्तान्तरण गरेका थिए ।

मोर्चाले यसअघि काठमाडौंका सबै स्थानीय तह र सिडिओ कार्यालयमा यसैगरी अनुगमन अभियान चलाउँदै नेपालको वास्तविक नक्सा प्रयोगका लागि नक्सा हस्तान्तरण गरेको थियो । यो अभियानलाई मोर्चाले देशव्यापी रुपमा लैजाने बताउँदै आएको छ ।

यसैबीच, मोर्चाको आइतबारै भएको एक भेलाले भुम्लु गापास्तरीय कमिटि गठन गरेको छ । रेशम माझीको नेतृत्वमा १९ सदस्यीय कमिटि गठन गरिएको देजमो काभ्रेका अध्यक्ष टेकबहादुर विकले जानकारी दिए ।