रतिखोला दोहनकर्तालाई कार्वाही की माफी ?

प्रहरीका हातमा विल्ड वेल कन्ट्रक्सनको चाबी !

2885
views

महेन्द्र जिसी
पर्वत । नवदृष्टि डटकम अनलाईनमा समाचार प्रकाशन भएलगत्तै मोदी गाउँपालिकाको रतिखोलाबाट विल्ड वेल कम्पनीका डोजर र टिपरको चाबी प्रहरीले नियन्त्रणमा लिएको छ । अव्यवस्थितरुपमा गिटी वालुवा झिक्दा मोदी गाउँपालिकामा पर्ने रतिखोला संकटमा परेपछि ‘डोजर लगाएर रतिखोला दोहन, टिपर देख्छन डोजर देख्दैनन् अनुगमनकर्ता’ शिर्षकमा समाचार प्रकाशन भएको थियो ।

रतिखोलामा सम्बन्धित निकायको मिलेमतोमै एक्साभेटर र डोजर लगाएर ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम रोकिएको थिएन् । डोजर र एक्साभेटरको प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा निकाल्दा ईन्जिनियर (प्राविधिक) ले डोजर प्रयोग नभएको भन्दै ढाकछोप गरेपनि प्रहरीले नियन्त्रणमा लिई जिल्ला समन्वय समिति पर्वतमा बुझाएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

स्थानीयले अनुगमन समेत मिलेमतो मै भएको भन्दै रतिखोला दोहनमा चिन्ता व्यक्त गरेका थिए । मोदी गाउँपालिकाले ढुङ्गा, ग्राभेल, गिट्टी, बालुवा, रोडा, चोकर आदि उत्खनन् एवं संकलन गर्दा मेसिनको प्रयोग गर्न नपाईने नियम बनाएको थियो । तर ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने जिम्मा पाएको विल्ड वेल कन्ट्रक्सन प्रा.लि.ले सम्झौता मै उल्लेखित नियमको उलंघन गर्दै मोदी गाउँपालिकामा पर्ने रतिखोलाको न्युरेनी वगरमा दोहनलाई तिव्र बनाएको थियो ।

नियम विपरीत कन्ट्रक्सनले उत्खनन् गर्दापनि गाउँपालिका मौन बसेपछि सञ्चारकर्मीको निगरानी बढेको थियो । डोजर लगाएर ढुंगा, गिटी बालुवाको अबैध उत्खनन् हुन थालेपछि खोलाको असरमा पर्ने बस्ती, खेत, जलचरहरु समेत संकटमा पर्ने भएपनि वातावरणीय प्रभावको समेत वेवास्था गरिएको छ । यही मंसिर देखी विल्ड वेल कन्ट्रक्सन प्रा.लि.ले दिनदहाडै खोलामा डोजर र एक्साभेटर प्रयोग गरी ढुंगा, गिट्टी, बालुवा निकाल्दै आएको छ ।

जिल्ला समन्वय समिति पर्वतले कार्वाही प्रक्रियालाई कसरी अगाडी बढाउँछ भन्ने विषयमा सरोकारवालाले चासो देखाएका छन् ।